काठमाडौं । नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ हाइड्रोपावर परियोजनाको क्याम्पमा बाढीपछि बेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले बाढी आएको लामो समय बितिसक्दा पनि उद्धार तथा खोजी कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनमा सहभागी सुमन नयाँजूले उपलब्ध स्रोत–साधन र प्रविधिको अधिकतम प्रयोग गरी उद्धार कार्यलाई थप सशक्त र द्रुत बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले भौगोलिक जटिलता र बाढीका कारण उद्धारमा कठिनाइ भए पनि सरकारले आवश्यक स्रोत जुटाउन र परिचालन गर्न समयमै पहल गर्न नसकेको आरोप लगाए।
“उद्धार कार्यलाई अझै सशक्त र फास्ट बनाउनका लागि हामी यहाँ उपस्थित भएका हौँ। स्रोत र साधन उपलब्ध भए तत्काल परिचालन गर्नुपर्थ्यो, नभए आवश्यक स्रोत कहाँबाट ल्याउन सकिन्छ भन्ने विषयमा सरकारले सक्रिय पहल गर्नुपर्थ्यो,” उनले भने।
नयाँजूले सुरुदेखि नै उपलब्ध सबै स्रोत–साधन परिचालन गर्नुपर्नेमा ढिलाइ भएको गुनासो गरे। उनका अनुसार देश तथा विदेशबाट सहयोग गर्न इच्छुक निजी क्षेत्रलाई समेत प्रारम्भिक दिनमा उद्धार कार्यमा सहभागी हुन अनुमति नदिइएको थियो।
“सुरुका दिनमै गर्नुपर्ने काम सातौँ–आठौँ दिनमा मात्र सुरु भयो। निजी क्षेत्रले उद्धारमा सहयोग गर्न चाहँदा पनि अनुमति दिइएन, जसले महत्वपूर्ण समय खेर गयो,” उनले बताए।
उनले त्रिशूली–३ ‘बी’ क्षेत्रमा रहेका भवन, आवास र कार्यालयहरू अझै माटो तथा पहिरोले पुरिएको अवस्थामा रहेको दाबी गर्दै उद्धार तथा खोजी कार्य अपेक्षाकृत सुस्त रहेको बताए। उनका अनुसार बाढी आएको झन्डै दुई सातासम्म पनि प्रभावित क्षेत्रमा उल्लेख्य प्रगति हुन सकेको छैन।
सरकारको भूमिकाबारे प्रश्न उठे पनि उनले अहिले दोषारोपणभन्दा बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई प्राथमिकता दिनुपर्ने बताए। साथै, सुरक्षा निकायले केही स्थानमा प्रभावकारी काम गर्दै जीवित व्यक्तिहरूको उद्धार गरेको स्वीकार गर्दै उपलब्ध जनशक्ति, प्रविधि र स्रोतको पूर्ण उपयोग गर्न आग्रह गरे।
प्रदर्शनकारीहरूले बेपत्ता व्यक्तिका परिवार तथा आफन्तलाई समेत उद्धार अभियानमा समेटेर खोजी कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।




Comment