काठमाडौँ र हेटौँडा जाने सवारीसाधनका लागि नयाँ ‘रुट’ निर्धारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि पृथ्वीराजमार्गलगायतका सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटौँडादेखि सङ्घीय राजधानी काठमाडौँमा चल्ने सवारीसाधनको नयाँ रुट आजदेखि निर्धारण गरेको छ।

दश चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जाने रुट व्यवस्थापन गरेको छ। दश चक्कासम्मका सवारीसाधन काठमाडौँबाट मकवानपुर फर्किँदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरेको छ।

प्रहरी प्रधान कार्यालयले मौसम र बाटोलगायत यात्रुहरूको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारीसाधन अनिवार्य रूपमा साँझ ६:०० बजेभित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको बताइएको छ।

प्रहरी प्रधान कार्यालयले १४ सिटभन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारीसाधन काठमाडौँबाट हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फ आउने रुट निर्धारण गरेको छ।

त्यसैगरी, काठमाडौँतर्फ जाँदा भने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जाने रुट तय गरेको छ। मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालबाहक सवारीसाधनले उक्त बेलिब्रिज प्रयोग नगरी सँगै रहेको डाइभर्सन हुँदै जाने व्यवस्था गरेको छ।

प्रहरी प्रधान कार्यालयले विपद्जन्य समय भएकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्ने, कुनै पनि राजमार्गमा सवारी चालकहरूले धैर्य एवं अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्ने, ओभरटेक नगर्ने तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्नका लागि सबैसँग अनुरोध गरेको छ।

त्यसैबीच, भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित त्रिशूली नदीले कटान गर्दा सडक भासिन गई मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभीरमा पनि बाढीका कारण सडकको तल्लो भाग भासिएकाले पूर्ण रूपमा अवरुद्ध भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।