काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवा जिल्लास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकका अध्यक्ष रोशन केसीले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
बाढीपहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा बैंकले आफ्नो तर्फबाट आर्थिक सहयोग गरेको जनाएको छ ।
विपत्ति लगत्तै बैंकले प्रभावित नागरिकका लागि खाद्यान्न, ओढ्ने–ओछ्याउनेलगायत दैनिक उपभोग्य राहत सामग्रीसमेत उपलब्ध गराइसकेको जनाएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त रकमले प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउन र पुनःस्थापनाका कार्यमा केही हदसम्म सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक तथा समुदायका लागि राहत तथा सहयोग प्रदान गर्दै आएको जनाएको छ ।
आगामी दिनमा पनि समुदायको हित तथा विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहललाई निरन्तरता दिने प्रतिबद्धता बैंकले जनाएको छ ।





Comment