गोदावरी नगरपालिकाद्वारा बाढीपहिरा पीडितका लागि ५० लाख आर्थिक सहायता घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । ​ललितपुरको गोदावरी नगरपालिकाले हालै रसुवा र नुवाकोट जिल्लामा गएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकहरूका लागि ५० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

नगरपालिकाको आज आयोजित कार्यपालिका बैठकले विपद्को यो कठिन घडीमा मानवीय सहायता स्वरूप उक्त रकम राहत तथा उद्धार कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो। विपदमा परेका जिल्लाहरूमा परेको ठूलो प्राकृतिक विपत्तिमा मलम लगाउन र आपत्कालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउन यो सहयोग रकम प्रदान गर्न लागिएको हो।

​गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले कार्यपालिका बैठकपछि जानकारी दिँदै भने, “रसुवा र नुवाकोटमा गएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। यस्तो संवेदनशील र दुःखद समयमा एक स्थानीय सरकारले अर्को जिल्लाका नागरिकलाई सहयोग गर्नु हाम्रो नैतिक तथा मानवीय दायित्व हो।” प्रमुख महर्जनका अनुसार घोषित ५० लाख रुपैयाँ रकममध्ये दुवै जिल्लाका अति प्रभावित क्षेत्र र पीडित परिवारको पुनरोत्थान तथा राहत कार्यका लागि आवश्यकता अनुसार समन्वय गरी वितरण गरिनेछ।

​पछिल्लो समय परेको अविरल वर्षाका कारण रसुवा र नुवाकोटका धेरै बस्तीहरू जोखिममा पर्नुका साथै ठूलो संख्यामा नागरिक विस्थापित भएका छन्। गोदावरी नगरपालिकाले अन्य स्थानीय तह तथा संघसंस्थालाई पनि यस विपद्को समयमा आफ्नो तर्फबाट सहयोगको हात बढाउन अपील गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।