र्‍याडिसन होटल ४ करोड ७४ लाख रुपैयाँ घाटामा, आम्दानी पनि घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। र्‍याडिसन ब्रान्डअन्तर्गत सञ्चालन भइरहेको होटल र्‍याडिसनले गत आर्थिक वर्ष २०८२/८३ मा ४ करोड ७४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। होटल सञ्चालन गर्ने ओरियन्टल होटल्सले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा व्यवसाय र नाफा दुवैमा गिरावट आएको हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। तर चालु आर्थिक वर्षमा नाफाबाट घाटामा पुगेको छ।

वित्तीय विवरणअनुसार होटलको सञ्चालन आम्दानी पनि घटेको छ। अघिल्लो वर्ष १ अर्ब ५ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष १ अर्ब १ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.५९ प्रतिशतले कम हो।

कम्पनीको प्रतिसेयर नेटवर्थ ३२६ रुपैयाँ ५४ पैसा रहेको छ।

होटल व्यवस्थापनले घाटाको मुख्य कारणका रूपमा पुरानो ब्लकमा रहेका ६० वटा कोठाको स्तरोन्नति तथा नवीकरण कार्यलाई उल्लेख गरेको छ। मर्मत तथा सुधार कार्यका कारण ती कोठा सञ्चालनमा आउन नसक्दा अपेक्षित आम्दानी प्राप्त हुन नसकेको कम्पनीको भनाइ छ।

यसका साथै रुस–युक्रेन तथा इजरायल–इरान युद्धका कारण विश्व पर्यटन क्षेत्रमा परेको प्रभाव, नेपालभित्रको राजनीतिक अस्थिरता तथा विभिन्न आन्दोलनका कारण पर्यटक आगमन घट्दा व्यवसाय प्रभावित भएको व्यवस्थापनले जनाएको छ।

कम्पनीले आगामी दिनमा खर्च नियन्त्रण, सेवाको गुणस्तर अभिवृद्धि तथा नवीकरण भइरहेका कोठाहरू छिट्टै सञ्चालनमा ल्याएर प्रतिस्पर्धात्मक क्षमता बढाउने योजना बनाएको छ।

यद्यपि, बढ्दो हवाई भाडादर, कमजोर पर्यटन पूर्वाधार तथा विदेशी मुद्राको विनिमय दरमा हुने उतारचढावलाई होटल व्यवसायका प्रमुख चुनौतीका रूपमा कम्पनीले औंल्याएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।