काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले एक महिनाअवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकका अनुसार साउन २७ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ ३१ गते गरिनेछ। यसमा लागू हुने ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।
बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। आवेदन रकम १० करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म प्रस्ताव पेश गर्न सकिने व्यवस्था गरिएको छ।
निक्षेप संकलन कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।
राष्ट्र बैंकले बोलपत्र बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिने जनाएको छ। त्यसपछि क्रमशः आह्वान गरिएको रकम पूरा हुने गरी बाँडफाँड गरिनेछ। यदि समान ब्याजदरमा प्राप्त बोलपत्रहरूको कुल रकम आह्वान गरिएको रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँड गरिने व्यवस्था छ।
केन्द्रीय बैंकका अनुसार यसरी संकलन गरिएको निक्षेप रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। तर राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।
राष्ट्र बैंकले निक्षेप संकलन गरिएको रकम भुक्तानी मितिअघि फिर्ता नहुने तथा समयअगावै भुक्तानी गर्न नसकिने स्पष्ट पारेको छ। स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी निक्षेपको छुट्टै खातामा जम्मा गरिनेछ।
बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा कायम रहँदा बजारमा उपलब्ध अतिरिक्त रकम व्यवस्थापन गर्न राष्ट्र बैंकले समय–समयमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।





Comment