काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २९.०९ प्रतिशतले बढी हो ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६१ करोड ७४ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढ्नुका साथै वित्तीय खर्च घटेपछि कम्पनीको नाफामा उल्लेख्य सुधार आएको हो ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा विद्युत् बिक्रीबाट कम्पनीले १ अर्ब ५३ करोड ३५ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ थियो ।
त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा ८९ करोड १८ लाख ३० हजार रुपैयाँ रहेको सञ्चालन नाफा समीक्षा वर्षमा बढेर १ अर्ब २ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको वित्तीय खर्च भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा २४ करोड ४३ लाख ३८ हजार रुपैयाँ रहेको वित्तीय खर्च समीक्षा वर्षमा घटेर २० करोड १९ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ । विद्युत् बिक्री आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा आएको कमीले खुद नाफा बढाउन सहयोग गरेको देखिन्छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा समेत उल्लेख्य सुधार आएको छ । अघिल्लो आर्थिक वर्षमा १६.८९ रुपैयाँ रहेको ईपीएस समीक्षा वर्षमा बढेर २५.५२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १४२.२४ रुपैयाँबाट बढेर १५०.७८ रुपैयाँ पुगेको छ । पीई रेसियो भने ३५.४६ गुणाबाट घटेर २२.२९ गुणामा झरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड २५ लाख ५८ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा सञ्चित कोष पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ रहेको रिजर्भ एन्ड सर्प्लस समीक्षा वर्षमा बढेर १ अर्ब ५८ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।
माउन्टेन इनर्जीले म्याग्दीमा रहेको ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजना र नुवाकोटमा रहेको ५ मेगावाट क्षमताको तादी खोला जलविद्युत् आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्दै आएको छ ।
समीक्षा वर्षमा मिस्त्री खोलाबाट १ अर्ब ३८ करोड १ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री भएको कम्पनीले जनाएको छ । त्यस्तै, तादी खोलाबाट १५ करोड ३३ लाख ७० हजार रुपैयाँ बराबरको विद्युत् बिक्री भएको छ ।
कम्पनीले जलविद्युत् क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै दूधखोला हाइड्रोपावर कम्पनीमा ६७ प्रतिशत सेयर स्वामित्वसमेत ग्रहण गरेको छ । दूधखोला हाइड्रोपावरलाई सहायक कम्पनीका रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ ।





Comment