काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो–२०२६ को औपचारिक उद्घाटन भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा मंगलबारदेखि सुरु भएको एक्स्पोको औपचारिक उद्घाटन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गरेका हुन् ।
साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन, प्रविधि तथा उत्पादनहरू प्रदर्शनमा राखिएका छन् ।
आयोजकका अनुसार एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता रहेको छ । एक्स्पो अवधिभर ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने तयारी गरिएको छ ।
एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी), हाइब्रिड तथा पेट्रोलियम इन्धनमा आधारित विभिन्न मोडलका सवारीसाधनसँगै मोबिलिटीसम्बन्धी नयाँ प्रविधि तथा उत्पादन प्रदर्शनमा राखिएका छन् ।
आयोजकका अनुसार एक्स्पोले नेपालमा विकसित हुँदै गएको नयाँ मोबिलिटी प्रविधि, विद्युतीय सवारीसाधन र अटोमोबाइल बजारका पछिल्ला प्रवृत्तिबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्नेछ ।
एक्स्पोमा विभिन्न अटोमोबाइल कम्पनी, वितरक तथा सरोकारवाला संस्थाको सहभागिता रहेको छ । आगन्तुकले नयाँ सवारीसाधनको अवलोकनसँगै तिनका प्रविधि, सुविधा तथा मूल्यसम्बन्धी जानकारी लिन सक्ने आयोजकले जनाएको छ ।











Comment