काठमाडौं । अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र भरपर्दो बनाउन स्थिर सरकारी नीति तथा आधुनिक पूर्वाधार आवश्यक रहेको बताएकी छन् ।
दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले प्रविधिको तीव्र विकाससँगै नेपालको सवारीसाधन बजारमा समेत ठूलो परिवर्तन भइरहेको बताइन् । उनका अनुसार ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनसँगै विभिन्न प्रकारका हाइब्रिड तथा नयाँ प्रविधिमा आधारित सवारीसाधन नेपाली बजारमा भित्रिरहेका छन् ।
नयाँ प्रविधिका सवारीसाधनको विस्तारसँगै सरकार र निजी क्षेत्रले प्रविधिलाई गहिराइमा बुझेर त्यसअनुसार कर प्रणाली, सवारी वर्गीकरण तथा नियमनको स्पष्ट व्यवस्था गर्नुपर्ने उनले बताइन् । यसका लागि नाइमा आवश्यक प्राविधिक सहयोग तथा विज्ञता उपलब्ध गराउन तयार रहेको उनको भनाइ छ ।
अध्यक्ष वैद्यले ‘सबैका लागि गतिशीलता’लाई नाइमाको मुख्य अवधारणाका रूपमा अघि सारेकी छन् । उनका अनुसार मोबिलिटी केवल सवारीसाधनको प्रयोगमा सीमित विषय नभई शिक्षा, स्वास्थ्य, रोजगारी तथा बजारसम्मको पहुँचसँग प्रत्यक्ष जोडिएको विषय हो ।
त्यसैले यातायात क्षेत्रलाई केवल विलासिताको वस्तु वा सरकारको राजस्व संकलनको माध्यमका रूपमा मात्र नहेरी राष्ट्रिय विकासको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने उनले बताइन् ।
नेपालको यातायात प्रणालीलाई थप प्रभावकारी बनाउन सुरक्षित सडक, स्पष्ट ट्राफिक नियम, भरपर्दो चार्जिङ पूर्वाधार, आधुनिक सवारी परीक्षण केन्द्र तथा दक्ष जनशक्तिको आवश्यकता रहेको वैद्यले उल्लेख गरिन् । सवारीसाधनको संख्या बढ्दै जाँदा सडक सुरक्षालाई पनि समान प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन् ।
लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले स्थिर र दीर्घकालीन नीति अवलम्बन गर्नुपर्ने नाइमाको माग छ । नीतिमा हुने पटक–पटकको परिवर्तन र अस्पष्टताले व्यवसायी तथा लगानीकर्तामा अन्योल सिर्जना गर्ने अध्यक्ष वैद्यले बताइन् ।
दशकौँदेखि नेपालमा लगानी तथा रोजगारी सिर्जना गर्दै आएका अटोमोबाइल कम्पनीलाई प्रोत्साहन गर्दै क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताइन् ।
नेपालको अटोमोबाइल बजार विद्युतीय तथा हाइब्रिड सवारीसाधनतर्फ तीव्र रूपमा रूपान्तरण भइरहेका बेला नाइमा अध्यक्षको यस्तो धारणा आएको हो । एक्स्पोले नयाँ प्रविधि, विद्युतीय तथा हाइब्रिड सवारीसाधन र नेपालको आगामी मोबिलिटी प्रणालीबारे बहस तथा प्रदर्शनका लागि उद्योग, सरकार र उपभोक्ताबीच संवादको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।





Comment