काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तवसँग बिहान ११ बजे र चिनियाँ राजदूत चाङ माओमिङसँग अपराह्न ३ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री नियुक्त भएपछि शाहले गत चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए। उक्त अवसरमा कूटनीतिक प्रतिनिधिहरूले उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले सुरुमा विदेशी कूटनीतिज्ञसँग व्यक्तिगत रूपमा नभई सामूहिक रूपमा मात्र संवाद गर्ने योजना बनाएका थिए। तर पछिल्लो समय उनले असार २३ गते एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक्लाएक्लै भेटवार्ता गरेका थिए।
उक्त भेटमा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार तथा पूर्वाधार विकासका विषयमा केन्द्रित भएर छलफल भएको थियो।
एडीबी अध्यक्षसँगको भेटपछि प्रधानमन्त्री शाहले अब भारतीय र चिनियाँ राजदूतसँग पनि अलग–अलग भेटवार्ता गर्न लागेका हुन्। कूटनीतिक तथा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।





Comment