काठमाडौं, साउन २४ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टी महामन्त्री गगन थापाविरुद्ध आफूले निर्वाचनमा ‘खुला घात’ गरेको बताएका छन्। उनले आफूले थापालाई सहयोग नगरेको विषय लुकाएर नभई सार्वजनिक रूपमै गरेको दाबी गरेका हुन्।
शुक्रबार सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले फागुन २१ गते सम्पन्न निर्वाचनमा आफ्नो भूमिकालाई अन्तर्घातको संज्ञा दिन नमिल्ने बताए। उनले आफूले थापालाई सहयोग नगरेको कुरा खुलेर स्वीकार गर्दै त्यसलाई ‘खुला घात’ को संज्ञा दिए।
“मेरा साथीभाइले सबैले सहयोग गरेको हो। मैले के-को अन्तर्घात ? खुल्लै घात गरेको हो। किन लुकाउनु ? मैले सहयोग नगरेकै हो, जे सक्छौं गर,” बस्नेतले भने।
बस्नेतले कांग्रेस नेतृत्वले पुराना नेताहरूको अनुहार हेरेर मत नआउने भन्ने धारणा अघि सारेको आरोप लगाउँदै आफू पनि त्यही समूहमा परेकाले टिकटबाट वञ्चित भएको बताए। उनले टिकट नदिएर चुनावमा सहयोगको अपेक्षा गर्नु उचित नभएको टिप्पणी गरे।
“पुराना नेताहरूको अनुहारै हेर्यो भने भोट आउँदैन भन्ने, म पनि पुरानाभित्र परेर टिकट नपाउने। शेरबहादुर देउवाको अनुहारै हेर्न हुँदैन भनेर गगन थापाको हस्ताक्षर लिएर गएको होइन ?” उनले प्रश्न गरे।
बस्नेतले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले विगतमा उल्लेखनीय चुनावी सफलता हासिल गरेको स्मरण गराउँदै देउवाको योगदानलाई बेवास्ता गर्न नहुने बताए। उनले देउवाको प्रभावलाई अस्वीकार गर्दै गगन थापाको नेतृत्वलाई मात्रै मत आकर्षित गर्ने रूपमा प्रस्तुत गर्नु उचित नभएको धारणा राखे।
“आफू कहिल्यै नहार्ने शेरबहादुर देउवा, कांग्रेसको बहुमतै बहुमत बनाएर राख्नुभयो। उहाँको अनुहारले काम नहुने रे, गगन थापाको तर्साउने अनुहारले भोट आउने ?” बस्नेतले भने।
उनले गगन थापाको आगामी निर्वाचन क्षेत्रसमेत निश्चित नभएको दाबी गर्दै प्रधानमन्त्री बन्ने आकांक्षा राख्नुभन्दा पहिले आफ्नै निर्वाचन क्षेत्रबाट चुनाव जित्नुपर्ने टिप्पणी गरे।
“गगन थापाजीको आगामी निर्वाचनमा चुनाव क्षेत्र नै छैन भनेको थिएँ। उहाँ महामन्त्री हुनुहुन्थ्यो। कहाँ लड्ने भन्ने थाहा छैन। प्रधानमन्त्री हुने रे ! प्रधानमन्त्री हुन त पहिला आफ्नो चुनाव जित्नुपर्यो,” बस्नेतले भने।
बस्नेतको यो अभिव्यक्तिलाई कांग्रेसभित्रको आन्तरिक राजनीतिक विवाद र नेतृत्वबीचको मतभेदको पछिल्लो सार्वजनिक अभिव्यक्तिका रूपमा हेरिएको छ।





Comment