काठमाडौं । नेपाली बजारमा चिनियाँ न्यु इनर्जी भेहिकल (एनईभी) ब्रान्ड लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी बी०३एक्स सार्वजनिक गरिएको छ। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले शुक्रबार आयोजित एक कार्यक्रममा उक्त गाडी सार्वजनिक गर्दै बुकिङसमेत खुला गरेको हो।
‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ को आधुनिक अवधारणामा आधारित लिपमोटर बी०३एक्स पाँचवटा कलर अप्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। १९० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो एसयूभी नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार बी०३एक्समा १४५ किलोवाट क्षमताको मोटर र ५३ किलोवाट-आवर क्षमताको ब्याट्री जडान गरिएको छ। यसले एक पटकको पूर्ण चार्जमा ५०५ किलोमिटरसम्म (सीएलटीसी मापदण्डअनुसार) यात्रा गर्न सक्ने बताइएको छ।
गाडीमा ५१० लिटर क्षमताको फराकिलो बुटस्पेस, प्रिमियम इन्टेरियर तथा आरामदायी केबिन उपलब्ध छ। सुरक्षाका लागि ‘एडीएएस लेभल–२’ प्रविधि समावेश गरिएको छ, जसले सुरक्षित तथा स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।
लिपमोटरलाई विश्वव्यापी अटोमोबाइल समूह स्टेलान्टिसको सहयोग प्राप्त रहेको छ। स्टेलान्टिस अन्तर्गत मासेराटी, जीप र प्युजोसहित १४ प्रमुख अटोमोबाइल ब्रान्ड आबद्ध छन्।
कम्पनीका अनुसार लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ। जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएको दाबी गरिएको छ। ब्रान्डको बिक्री तथा सेवा सञ्जाल विश्वका ४० भन्दा बढी देशमा फैलिएको छ, जहाँ १ हजार ७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्र सञ्चालनमा रहेका छन्।
सांग्रिला मोटर्सले लिपमोटर बी०३एक्सको प्रारम्भिक मूल्य पहिलो १०० ग्राहकका लागि ४४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ।





Comment