बीमा कम्पनीद्वारा एक वर्षमै एक खर्बभन्दा बढी दाबी भुक्तानी, ५२ अर्ब रुपैयाँ अझै बाँकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमितलाई एक खर्ब रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार उक्त अवधिमा बीमा कम्पनीहरूले कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका हुन्।

यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ११.३० प्रतिशतले बढी हो। त्यस वर्ष बीमा कम्पनीहरूले ९१ अर्ब ६ करोड ८५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका थिए।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले ४ लाख १९ हजार १३६ वटा दाबीबापत ६९ अर्ब ६४ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो आर्थिक वर्षमा ३ लाख ९१ हजार १३५ वटा दाबीका लागि ६५ अर्ब ८० करोड ८९ लाख रुपैयाँ वितरण गरिएको थियो। यसअनुसार जीवन बीमातर्फ दाबी संख्या ७.१६ प्रतिशत तथा दाबी भुक्तानी रकम ५.८३ प्रतिशतले वृद्धि भएको देखिएको छ।

यस्तै, निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा १ लाख ६४ हजार १०१ वटा दाबीबापत ३१ अर्ब ७१ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्ष १ लाख ५० हजार ६३९ वटा दाबीका लागि २५ अर्ब २५ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरिएको थियो। यस अवधिमा निर्जीवन बीमातर्फ दाबी संख्या ८.९४ प्रतिशत र भुक्तानी रकम २५.५७ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

५२ अर्बभन्दा बढी दाबी अझै भुक्तानी हुन बाँकी

बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीहरूमा कुल ५२ अर्ब ८ करोड १ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाँकी रहेको छ।

जीवन बीमातर्फ १ लाख ४४ हजार १४४ वटा दाबीका लागि ११ अर्ब ४ करोड ७५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ। त्यस्तै, निर्जीवन बीमातर्फ १ लाख ६ हजार २३७ वटा दाबीका लागि ४१ अर्ब ३ करोड २५ लाख रुपैयाँ अझै भुक्तानी हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

बीमा क्षेत्रमा दाबी भुक्तानीको आकार निरन्तर बढ्दै गए पनि ठूलो परिमाणको दाबी रकम अझै भुक्तानी हुन बाँकी रहनुले दाबी फर्छ्योट प्रक्रियालाई थप प्रभावकारी र छिटो बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।