नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ : ५५ भन्दा बढी ब्रान्ड, ४० नयाँ सवारीसाधन सार्वजनिक हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्ने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी २६ साउनदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ। दोस्रो संस्करणका रूपमा आयोजना हुन लागेको एक्स्पोमा यस वर्ष ५२ स्टल र ५५ भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता रहने आयोजकले जनाएको छ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिनेछ। पहिलो संस्करणबाट प्राप्त अनुभवका आधारमा यसपटकको कार्यक्रमलाई थप व्यवस्थित, आकर्षक र प्रभावकारी बनाइएको उनले बताए।

उनका अनुसार सहभागी ब्रान्डको संख्या, नयाँ उत्पादनको अनावरण तथा आगन्तुकका लागि उपलब्ध गराइने विशेष सुविधाका कारण यस वर्षको एक्स्पो विशेष रहनेछ। “५२ वटा स्टलमा ५५ भन्दा बढी ब्रान्डको सहभागिताले एक्स्पोलाई अझ भव्य बनाउनेछ,” दुलालले भने।

आगन्तुकका लागि विशेष व्यवस्था

मनसुनको मौसमलाई ध्यानमा राख्दै प्रदर्शनी हलहरूलाई पानी नछिर्ने गरी सुधार गरिने भएको छ। आगन्तुकको सहजताका लागि फराकिलो अवलोकन क्षेत्र, अपाङ्गतामैत्री संरचना, हेल्प डेस्क तथा विशेष सहायक सेवाको व्यवस्था गरिने आयोजकले जनाएको छ।

पार्किङ र यातायातमा सुविधा

भृकुटीमण्डप क्षेत्रमा देखिने पार्किङ समस्यालाई मध्यनजर गर्दै नेपाल पुलिस क्लब परिसरमा विशेष पार्किङ सुविधा उपलब्ध गराइनेछ। यसले आगन्तुकलाई सहज पार्किङको सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, राइड–सेयरिङ प्लेटफर्म पठाओसँगको सहकार्यमा एक्स्पो अवधिभर भृकुटीमण्डप आउँदा–जाँदा विशेष छुटसहितको सेवा उपलब्ध गराइनेछ।

सस्तो टिकट र ५० प्रतिशत क्यासब्याक

एक्स्पो २६ देखि ३१ साउनसम्म सञ्चालन हुनेछ। सर्वसाधारणका लागि टिकट शुल्क २०० रुपैयाँ तथा विद्यार्थीका लागि १०० रुपैयाँ निर्धारण गरिएको छ।

भुक्तानी साझेदार युनियन पेमार्फत टिकट खरिद गर्ने आगन्तुकले ५० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने नाइमाले जनाएको छ। साथै, टिकट बिक्रीबाट उठेको रकमको १० प्रतिशत अटोमोबाइल क्षेत्रको अनुसन्धान तथा अध्ययनमा खर्च गरिने घोषणा गरिएको छ।

स्वास्थ्य सेवा र नीतिगत बहस

एक्स्पो अवधिभर आगन्तुकका लागि प्राथमिक उपचार सेवा उपलब्ध हुनेछ। आवश्यक परे तत्काल एम्बुलेन्स सेवा पनि उपलब्ध गराइनेछ। यसका लागि ग्रान्डी अस्पतालले नाइमासँग सहकार्य गरेको छ।

नाइमाले यस वर्ष अटोमोबाइल क्षेत्रका नीतिगत तथा व्यावहारिक विषयमा विशेष छलफल कार्यक्रमसमेत आयोजना गर्ने भएको छ। नेपाल पुलिस क्लबको ब्लु प्याभिलियन हलमा हुने संवाद कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहनेछ। उक्त कार्यक्रममा प्रवेश निःशुल्क रहने जनाइएको छ।

डेढ लाखभन्दा बढी आगन्तुकको अपेक्षा

आयोजकका अनुसार दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्तीमा डेढ लाख आगन्तुकले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ।

सहभागी ब्रान्डहरू

एक्स्पोमा २६ वटा स्टल चारपाङ्ग्रे सवारीसाधनका लागि, २३ वटा स्टल दुईपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधनका लागि छुट्याइएको छ।

चारपाङ्ग्रेतर्फ बीवाईडी, हुण्डाई, किआ, टाटा, महिन्द्रा, एमजी, निसान, टोयोटा, जिकर, ओमोडा एन्ड जेको, ग्रेटवाल मोटर्स, म्याक्सस, लिपमोटर, सिट्रोनलगायतका ब्रान्ड सहभागी हुनेछन्।

दुईपाङ्ग्रेतर्फ अथर, बजाज, होन्डा, केटीएम, रोयल इन्फिल्ड, सुजुकी, ट्रायम्फ, टीभीएस, एनआईयू, याडिया, अल्ट्राभायोलेटलगायतका ब्रान्डको सहभागिता रहनेछ।

व्यावसायिक सवारीसाधनतर्फ चेरी वान्डा, कारी, किंटोन र स्काइवर्थ सहभागी हुनेछन्।

अटोमोबाइल क्षेत्रको नवीन प्रविधि, विद्युतीय सवारीसाधनको विस्तार तथा उद्योगसँग सम्बन्धित नीतिगत बहसलाई केन्द्रमा राखेर आयोजना हुन लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ यस वर्षको सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।