नबिल बैंकको नाफा झण्डै ८ अर्ब, एक वर्षमा उठायाे १७ अर्ब भन्दा बढी ब्याज, ईपीएस कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा करिव ८ अर्ब रूपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकले बुधबार सार्वजनिक गरेकाे गत आर्थिक वर्ष (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानीमा सुधार आएसँगै नाफामा उल्लेख्य वृद्धि देखिएको हो।

एक वर्षकाे अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.१८ प्रतिशतले बढेर १७ अर्ब ९ करोड २ लाख ८८ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १६ अर्ब ३२ करोड ७२ लाख ८१ हजार रुपैयाँ रहेको थियो।

यस्तै, बैंकको सञ्चालन मुनाफा २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख २६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा ९ अर्ब २३ करोड ५४ लाख ५८ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३४.०७ प्रतिशतले बढेर ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३ अर्ब ८५ करोड ५५ लाख ६ हजार रुपैयाँ रहेको थियो। यस्तै, इम्पेयरमेन्ट चार्ज (इम्प्यायरमेन्ट घाटा) ४ अर्ब २१ करोडबाट घटेर २ अर्ब ६७ करोड ७१ लाख रुपैयाँमा सीमित हुँदा नाफा बढाउन सहयोग पुगेको छ।

बैंकको वित्तीय सूचकहरूमा पनि सुधार आएको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ६.४७ रुपैयाँले बढेर २८.३६ रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १९.१० रुपैयाँ रहेको छ। प्रतिशेयर नेटवर्थ २४७.२८ रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ। बैंकको आधार दर (बेस रेट) ४.४४ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ३.१८ प्रतिशत रहेको छ।

चुक्ता पुँजी १८.४८ प्रतिशतले बढेर ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ पुग्दा बैंकको जगेडा तथा कोष (रिजर्भ एन्ड सर्प्स) १२.३२ प्रतिशतले बढेर ३९ अर्ब ८४ करोड ९५ लाख ६८ हजार रुपैयाँ पुगेको छ। नबिल बैंकको निक्षेप सङ्कलन र कर्जा प्रवाहमा पनि विस्तार भएको छ। असार २०८३ सम्ममा बैंकले सर्वसाधारणबाट ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप १२.९५ प्रतिशत र कर्जा विस्तार १२.०० प्रतिशतले बढेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।