काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरेसँगै आन्तरिक वायुसेवा कम्पनीहरूले पनि हवाई टिकटमा लाग्ने इन्धन शुल्क बढाएका छन्। सोमबारदेखि लागू भएको नयाँ दरअनुसार यात्रुले टिकट खरिद गर्दा बढेको इन्धन शुल्क तिर्नुपर्ने भएको छ।
वायुसेवा कम्पनीहरूले आयल निगमलाई बुझाउने इन्धन खर्च टिकटमै समावेश गर्ने भएकाले इन्धनको मूल्यमा हुने परिवर्तनअनुसार हवाई भाडामा पनि समायोजन हुने गरेको छ। यसअघि असार १६ गते निगमले इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाउँदा वायुसेवा कम्पनीहरूले पनि इन्धन शुल्क घटाएका थिए। तर साउन १८ देखि इन्धनको मूल्य पुनः बढेपछि हवाई भाडामा इन्धन शुल्क थप गरिएको हो।
नयाँ व्यवस्थाअनुसार काठमाडौं–धनगढी रुटमा सबैभन्दा बढी ८८० रुपैयाँ इन्धन शुल्क वृद्धि भएको छ। धनगढी काठमाडौंबाट सबैभन्दा टाढाको आन्तरिक गन्तव्य भएकाले यस रुटमा वृद्धि बढी देखिएको हो। यता, काठमाडौं–सिमरा रुटमा भने १८३ रुपैयाँ मात्र शुल्क बढेको छ।
काठमाडौंबाट सञ्चालन हुने अन्य प्रमुख गन्तव्यमा माउन्टेन उडानमा ६८८ रुपैयाँ, भद्रपुरमा ५६० रुपैयाँ, विराटनगरमा ४७८ रुपैयाँ, जनकपुरमा २५८ रुपैयाँ, भरतपुरमा २१२ रुपैयाँ, पोखरामा ३१४ रुपैयाँ र भैरहवामा ४१० रुपैयाँ इन्धन शुल्क थपिएको छ। त्यसैगरी नेपालगन्जमा ६५४ रुपैयाँ, तुम्लिङटारमा ३६८ रुपैयाँ, सुर्खेतमा ६९० रुपैयाँ र राजविराजमा ४०५ रुपैयाँले शुल्क बढेको छ। दुर्गम क्षेत्रका अधिकांश गन्तव्यमा पनि इन्धन शुल्क वृद्धि गरिएको वायुसेवा कम्पनीहरूले जनाएका छन्।
इन्धन शुल्कबाहेक यात्रुले तिर्ने टिकट मूल्यमा न्यूनतम तथा अधिकतम भाडादर, विमानस्थल सेवा शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) समेत समावेश हुने गर्छ। गन्तव्यअनुसार आन्तरिक उडानको भाडादर फरक–फरक रहेको छ।
हाल काठमाडौं–धनगढी उडानको भाडा करिब ६ हजारदेखि १० हजार रुपैयाँसम्म, भद्रपुर १ हजार ७ सयदेखि ६ हजार ९ सय रुपैयाँसम्म, विराटनगर १ हजार ३ सयदेखि ५ हजार ५ सय रुपैयाँसम्म तथा नेपालगन्ज १ हजार ८ सयदेखि ७ हजार ४ सय रुपैयाँसम्म रहेको छ।
त्यस्तै, जनकपुरमा ७ सयदेखि २ हजार ९ सय रुपैयाँसम्म, पोखरामा ९ सयदेखि ३ हजार ६ सय रुपैयाँसम्म, सुर्खेतमा ५१७ रुपैयाँदेखि २ हजार रुपैयाँसम्म, भैरहवामा १ हजार १ सयदेखि ४ हजार ७ सय रुपैयाँसम्म, भरतपुरमा ६ सयदेखि २ हजार ६ सय रुपैयाँसम्म र सिमरामा ५ सयदेखि २ हजार रुपैयाँसम्म हवाई भाडा कायम छ।
इन्धनको मूल्यवृद्धिसँगै आन्तरिक हवाई यात्राको लागत बढेकाले यात्रुहरूले अब टिकट खरिद गर्दा थप आर्थिक भार वहन गर्नुपर्ने भएको छ।

Comment