काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ। बैंक सुपरिवेक्षण विभागले प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई विभिन्न निर्देशन उल्लंघन गरेको भन्दै कारबाही गरेको जनाएको छ।
कारबाहीमध्ये प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई व्यक्तिगत रूपमा ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ। राष्ट्र बैंकका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २(ग) बमोजिम उक्त जरिवाना गरिएको हो।
राष्ट्र बैंकले प्रभु बैंकले पटक–पटक जारी गरिएका निर्देशनहरू पालना नगरेको, कर्जाको वर्गीकरण निर्देशनअनुसार नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा राष्ट्र बैंकमा पेस गरिएको कर्जा विवरण र बैंकको कोर बैंकिङ प्रणालीबाट प्राप्त विवरणबीच फरक देखिएको जनाएको छ। यिनै कारण तत्कालीन सीईओ शेरचनलाई जिम्मेवार ठहर गर्दै जरिवाना गरिएको हो।
त्यस्तै, प्रभु बैंकको सञ्चालक समितिलाई पनि गम्भीर प्रकृतिका कमजोरी सुधार गर्न तथा आगामी दिनमा यस्ता त्रुटि नदोहो¥याउने प्रतिबद्धतासहित ‘कबुलियतनामा’ गराइएको छ। राष्ट्र बैंकले बैंकलाई यसअघि नै सचेत गराएर सुधार योजना लागू गर्न निर्देशन दिएको भए पनि पछिल्लो जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणमा अपेक्षित सुधार नदेखिएको जनाएको छ।
राष्ट्र बैंकका अनुसार प्रभु बैंकले विगतका निरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका अधिकांश निर्देशन पालना नगरेको, कर्जाको वर्गीकरण तथा नोक्सानी व्यवस्थासम्बन्धी एकीकृत निर्देशन उल्लंघन गरेको र कर्जा विवरणमा असंगति देखिएको पाइएको छ।
यसैबीच, सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई पनि सचेत गराइएको छ। राष्ट्रिय वाणिज्य बैंकले खाता रोक्का तथा फुकुवा सम्बन्धी राष्ट्र बैंकको निर्देशन र आफ्नै विनियमावली पालना नगरेको पाइएको छ।
कृषि विकास बैंकले सम्बन्धित निकायको अनुरोधअनुसार समयमै बैंक खाता रोक्का नगरेको तथा राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको विशेष स्थलगत निरीक्षणमा भेटिएको राष्ट्र बैंकले जनाएको छ।
दुवै बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा १(क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

Comment