ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को व्यापार मेला समितिमा ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्द कर्माचार्यसहित १९ जना पदाधिकारी तथा प्रतिनिधि मनोनीत भएका छन्।
महासंघका कार्यकारिणी समिति सदस्य सविन श्रेष्ठको सभापतित्वमा गठित समितिको मनोनयन पत्र हस्तान्तरण तथा पहिलो बैठकका अवसरमा आयोजित कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले मनोनीत सदस्यहरूलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।
समितिको उपसभापतिमा कार्यकारिणी समिति सदस्य अर्जुन श्रेष्ठ मनोनीत भएका छन्। सदस्यहरूमा दानबहादुर सुर्मेली, नेत्र आचार्य, कृष्णगोपाल भैल, भूमिनन्द कर्माचार्य, भुपेन्द्र भण्डारी, लोकमान शाक्य, प्रमोद रानाभाट, दिनेश गोशाई, किरण डंगोल, बद्रिनाथ बराल, प्रताप शाक्य, सुवोध अधिकारी र नविन श्रेष्ठ रहेका छन्।
त्यस्तै नरेन्द्र भण्डारी, प्रदीप अर्याल, उपेन्द्र सुवेदी (राजु), राजेन्द्र संग्रौला र कोमल सुन्दर श्रेष्ठ आमन्त्रित सदस्यका रूपमा मनोनीत भएका छन्।
कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष वैद्यले समितिमा विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरिएको बताउँदै मेला–महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन, पर्यटन प्रवर्द्धन गर्न तथा व्यापार–व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले कृषि क्षेत्रको प्रवर्द्धन, उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय मेला–महोत्सव आयोजना गर्न समितिले विशेष ध्यान दिनुपर्ने बताए। नेपालमै अन्तर्राष्ट्रियस्तरका मेला आयोजना गरेर देशको पहिचान र अपनत्वलाई थप मजबुत बनाउन सकिने उनको भनाइ थियो।
महासंघका वस्तुगत उपाध्यक्ष नरेशराज श्रेष्ठले व्यापार मेला समितिले प्रभावकारी काममार्फत आफ्नो क्षमता प्रमाणित गर्ने विश्वास व्यक्त गरे। उनले स्वदेशी उत्पादनको प्रवर्द्धन र गुणस्तरीय मेला–महोत्सव आयोजना गर्न समितिलाई आग्रह गरे।
कोषाध्यक्ष मनिषलाल प्रधानले महासंघका २५ वटा समितिमध्ये व्यापार मेला समिति महत्वपूर्ण रहेको उल्लेख गर्दै समितिबाट प्राप्त नीतिगत सुझाव कार्यान्वयन गर्न महासंघ प्रतिबद्ध रहेको बताए।
समितिका संयोजक सविन श्रेष्ठले मेला–महोत्सवलाई उद्यमशीलता, उत्पादन र बजार विस्तारसँग जोडेर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। उपसभापति अर्जुन श्रेष्ठले पनि उद्योगी–व्यवसायीको हितलाई केन्द्रमा राखेर व्यापार प्रवर्द्धन तथा मेला व्यवस्थापनलाई थप प्रभावकारी बनाइने बताए।

Comment