काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारसँग निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न माग गरेका छन्।
सोमबार जारी विज्ञप्तिमार्फत थापाले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषी पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन तथा घाइते र मृतकका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न उठाउँदै सामाजिक सद्भावमा असर पर्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ संयमित, सतर्क र जिम्मेवार हुनुपर्ने बताएका छन्। समयमै परिस्थितिको सही आकलन, आवश्यक समन्वय, सुरक्षा तयारी तथा सतर्कता अपनाउन नसक्दा नागरिकको ज्यान जाने अवस्था उत्पन्न हुनु दुःखद भएको उनको भनाइ छ।
उनले प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिको संवेदनशील ढंगले व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन्। साथै, अफवाह र उत्तेजनाबाट टाढा रहँदै सामाजिक सद्भाव कायम राख्न स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज तथा राजनीतिक दललगायत सबै पक्षलाई संयमता अपनाउन अपिल गरेका छन्।
देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिलाई जिम्मेवारीपूर्वक सम्बोधन गर्दै सत्यतथ्य बाहिर ल्याउन र प्रभावित परिवारलाई न्याय दिलाउन सरकार गम्भीर बन्नुपर्ने थापाले बताएका छन्।

Comment