ग्लोबल आईएमई बैंकमा नागरिक एपबाटै अनलाइन खाता खोल्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आईएमई बैंकले नागरिक एपसँगको सहकार्यमा अनलाइनबाटै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सुरु गरेको छ । यससँगै नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन्।

बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले एपमार्फत उपलब्ध क्यूआर कोड स्क्यान गरी ग्लोबल आईएमई बैंकको वेबसाइटमा प्रवेश गरेर खाता खोल्न सक्नेछन् । यस सेवाका लागि आवश्यक व्यक्तिगत विवरण ग्राहकको पूर्वसहमतिमा नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिनेछ ।

बैंकले यो सुविधा नेपालमै पहिलो पटक सुरु गरिएको दाबी गर्दै यसबाट खाता खोल्ने प्रक्रिया थप सहज, छिटो र प्रविधिमैत्री हुने जनाएको छ । व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने आवश्यकता हट्नुका साथै ग्राहकको गोपनीयता र सूचनाको सुरक्षा पनि सुनिश्चित हुने बैंकको भनाइ छ ।

यो सुविधा १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र बनाइसकेका र नागरिक एपमा आबद्ध नागरिकका लागि उपलब्ध हुनेछ । नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि भने ग्राहकले आफ्नो नजिकको शाखा कार्यालयमा गई वा भिडियो केवाईसी प्रक्रियामार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बैंकका अनुसार सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो । नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप पारदर्शी र सहज बनाउनुका साथै ग्राहकलाई आधुनिक डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आईएमई बैंक हाल देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३४२ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको छ । साथै, उत्कृष्ट बैंकिङ सेवा र डिजिटल नवप्रवर्तनका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको बैंकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।