काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारतको नयाँ दिल्लीमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेको खुलेपछि कूटनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
स्रोतका अनुसार सरकार गठन भएको करिब सय दिन पुगेपछि प्रधानमन्त्री शाहले द्विपक्षीय सम्बन्ध सुधार तथा सम्भावित भारत भ्रमणको वातावरण निर्माण गर्ने उद्देश्यले आफ्ना प्रमुख सल्लाहकार बेनलाई विशेष दूतका रूपमा भारत पठाएका थिए।
बेनले असारको मध्यतिर नयाँ दिल्ली पुगेर उच्चस्तरीय भेटघाट गरेका थिए। भारत भ्रमणपछि उनी नेपाल फर्किसकेका छन्। स्रोतका अनुसार उक्त भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा उच्चस्तरीय भ्रमणको सम्भावनाबारे छलफल भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएको करिब तीन सातापछि बेनको भारत भ्रमण भएको बताइएको छ।
भ्रमणबारे सार्वजनिक रूपमा धेरै जानकारी नदिइए पनि सरकारी स्रोतले यसलाई नियमित कूटनीतिक पहलको हिस्सा भएको दाबी गरेको छ। “असारको मध्यतिर उहाँ भारत जानुभएको हो। अहिले आएर यसलाई अनावश्यक रूपमा उचाल्नुपर्ने विषय होइन,” स्रोतले भन्यो।
प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण, नेपाल–भारत सम्बन्धको वर्तमान अवस्था तथा पछिल्ला राजनीतिक घटनाक्रमका बीच भएको यो भेटवार्तालाई कूटनीतिक महत्त्वका साथ हेरिएको छ। यद्यपि भ्रमणको एजेन्डा र उपलब्धिबारे औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन।

Comment