काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी राख्ने गरिएको गतिविधिप्रति आपत्ति जनाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाले नागरिकको सुरक्षा सुनिश्चित गर्नु र उनीहरूको समस्या समाधान गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन्। राज्यका निकायले नागरिकमा विश्वास र सुरक्षा अनुभूति दिलाउनु पर्नेमा उल्टै त्रास र असुरक्षाको वातावरण सिर्जना गर्ने गतिविधि उचित नभएको उनको भनाइ छ।
उनले यस्ता गतिविधिले सुशासनको प्रत्याभूति दिन नसक्ने उल्लेख गर्दै राज्यको अपरिपक्वता झल्किएको टिप्पणी गरेका छन्। साथै उनले प्रश्न गर्दै भनेका छन्, “यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोगका लागि जेन्जी पुस्ताले शहादत गरेको हो ?”
झाले यस्ता गतिविधिप्रति आफ्नो घोर असहमति रहेको जनाउँदै राज्यका निकायले कानुनी शासनको सम्मान गर्दै जिम्मेवार, संयमित र पारदर्शी ढंगले काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

Comment