काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीतका गतिविधि तथा सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
काउन्सिलले सोमबार विज्ञप्ति जारी गर्दै सञ्चार क्षेत्रलाई पत्रकारिता आचारसंहिताको परिधिभित्र रही जिम्मेवारीबोधका साथ सामग्री सम्प्रेषण गर्न तथा गराउन आग्रह गरेको हो।
विज्ञप्तिमा पछिल्लो समय केही सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पेसागत आचरण र पत्रकारिताको मर्यादाविपरीतका गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ।
काउन्सिलका अनुसार अनलाइन समाचार पोर्टल दर्ता गरे पनि समाचार सामग्री प्रकाशन नगरी युट्युब च्यानल, फेसबुक पेज तथा रिल्समार्फत भ्युज र मोनिटाइजेसन केन्द्रित तथ्यहीन, उत्तेजनात्मक, झैझगडा तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गर्ने प्रवृत्ति बढ्दो क्रममा छ।
त्यस्तै, सम्बन्धित निकायको अनुमति तथा पत्रकार परिचयपत्रबिना विभिन्न सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक कार्यक्रममा प्रवेश गरी अमर्यादित व्यवहार गर्ने, विवाद सिर्जना गर्ने, दुव्र्यवहार तथा हातपातसम्मका घटनालाई सामाजिक सञ्जालमा प्रसारण गर्ने कार्यप्रति पनि काउन्सिलले चिन्ता व्यक्त गरेको छ।
यस्ता गैरजिम्मेवार गतिविधिले समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता, पेशागत गरिमा तथा स्थापित मर्यादामा नकारात्मक असर पारिरहेको काउन्सिलको भनाइ छ।
प्रेस काउन्सिलले सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सत्य, तथ्य र सन्तुलित सूचना सम्प्रेषण गर्दै पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको पालना गर्न पुनः आग्रह गरेको छ।

Comment