काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमतिबिना सार्वजनिक स्थलमा ठुलो पर्दा राखेर विश्वकप फुटबलका खेलहरू प्रदर्शन गर्न रोक लगाएको छ।
बिहीबारदेखि सुरु हुन लागेको ‘फिफा विश्वकप फुटबल २०२६’ का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने सङ्घ-संस्था वा कम्पनीहरूले अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने प्रशासनले जनाएको छ।
“फिफा विश्वकप फुटबल २०२६ का खेलहरू काठमाडौं जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ/संस्था वा कम्पनीले यस कार्यालयबाट पूर्वस्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा गरी समुदायमा असर पर्ने एवम् शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न/नगराउन सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ,” सूचनामा भनिएको छ ।
खेलको प्रत्यक्ष प्रसारण गर्न स्वीकृतिको लागि निर्धारित निवेदनको ढाँचा कार्यालयको वेबसाइटमा रहेको जनाइएको छ । “उक्त निवेदनमा उल्लेखित सर्तहरूको अधिनमा रही यस्तो संघ/संस्था वा कम्पनी रहेको स्थान तथा सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी अनुमति दिइनेछ,” जिप्रका काठमाडौंले भनेको छ ।
सूचनाको अवज्ञा गरी कोही कसैले स्वीकृति बेगर रातको समयमा फिफा विश्वकप फुटबल २०२६ को प्रत्यक्ष प्रसारणको नाममा भिडभाड गर्ने तथा अमर्यादित, उच्छृंखल, अवाञ्छित एवम् गैरकानुनी क्रियाकलाप गरेको सूचना प्राप्त भएको खण्डमा तत्काल प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

Comment