नुवाकोट । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशव्यापी संगठन विस्तार अभियानसँगै जिल्ला अधिवेशनमा केन्द्रित भएको छ। पार्टीको निर्णयअनुसार जेठ २३ र २४ गते देशभर जिल्ला अधिवेशन आयोजना हुँदैछन्। सोही क्रममा रास्वपा नुवाकोट पनि आफ्नो प्रथम जिल्ला अधिवेशनको तयारीमा जुटेको छ।
पार्टीले जिल्लाका ८८ वडासहित दुई नगरपालिका र १२ वटै पालिकाको अधिवेशन सम्पन्न गरिसकेको छ। जिल्ला तहको संगठन निर्माण प्रक्रिया पूरा भएसँगै अब नेतृत्व चयन तथा भावी कार्यदिशा तय गर्ने उद्देश्यका साथ जिल्ला अधिवेशन हुन लागेको हो।
रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेलका अनुसार पछिल्लो समय जिल्लामा पार्टीप्रति आकर्षण बढ्दो क्रममा रहेको छ। विशेषगरी निर्वाचनपछि पार्टीमा आबद्ध हुने तथा विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने समर्थकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको उनले बताए।
“निर्वाचनका बेला खुलेर पार्टीमा देखिन नचाहने धेरै समर्थकहरू अहिले सक्रिय रूपमा पार्टीका कार्यक्रमहरूमा सहभागी भइरहेका छन्,” गजुरेलले भने, “यसले संगठन विस्तार र पार्टीप्रतिको जनविश्वास बढिरहेको संकेत गर्छ।”
पार्टीका संस्थापक जिल्ला सभापति समेत रहेका गजुरेल आगामी अधिवेशनमा पुनः सभापति पदमा उम्मेदवारी दिने तयारीमा छन्। पहिलो कार्यकाल संगठन निर्माण, संरचना विस्तार र पार्टीलाई जिल्लाभर स्थापित गर्न केन्द्रित रहेको उल्लेख गर्दै उनले अब त्यसको परिणाम देखाउने चरणमा प्रवेश गरेको बताए।
“पहिलो कार्यकाल सिकाइ र संगठन निर्माणमै केन्द्रित रह्यो। अब त्यही मेहनतलाई थप परिणाममुखी बनाउने उद्देश्यका साथ सभापति पदमा मेरो स्वाभाविक उम्मेदवारी रहनेछ,” उनले भने।
गजुरेलका अनुसार तीन जनाको टोलीबाट सुरु भएको रास्वपा नुवाकोटको यात्रा अहिले हजारौँ समर्थक र सदस्यसम्म विस्तार भइसकेको छ। उनले २०७९ को निर्वाचनमा संगठनात्मक संरचना पूर्ण रूपमा तयार नभए पनि पार्टीले सम्मानजनक मत प्राप्त गरेको स्मरण गर्दै त्यसपछि निरन्तर जनसम्पर्क र संगठन विस्तारका कारण पछिल्ला निर्वाचनमा सफलता हासिल गर्न सम्भव भएको बताए।
“हामी नयाँ राजनीतिक शक्तिका रूपमा मैदानमा उत्रिएका थियौँ। त्यसबेला संगठन कमजोर भए पनि मतदाताले विश्वास देखाएका थिए। त्यही विश्वासलाई निरन्तरता दिँदै अघि बढ्दा पछिल्ला निर्वाचनमा पार्टीले सफलता हासिल गर्न सक्यो,” उनले बताए।
राजनीतिमा प्रवेशअघि अध्ययन र सामाजिक अभियानमा सक्रिय रहेका गजुरेल रास्वपा स्थापनापछि पार्टी संगठन निर्माणमा निरन्तर क्रियाशील रहँदै आएका छन्। पार्टीका जिल्ला तहका नेताहरूले संगठन विस्तार, निर्वाचन परिचालन तथा नेतृत्वदायी भूमिकामा उनले महत्वपूर्ण योगदान दिएको बताउने गरेका छन्।
पछिल्लो समय नेपाली राजनीतिमा युवापुस्ताको सहभागिता बढिरहेका बेला नुवाकोटमा पनि युवा नेतृत्वप्रति सकारात्मक अपेक्षा देखिएको छ। पार्टीभित्र संगठनलाई थप सुदृढ बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने तथा वैकल्पिक राजनीतिक अभ्यासलाई संस्थागत गर्ने विषय आगामी अधिवेशनका प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ।
रास्वपा नुवाकोटको प्रथम जिल्ला अधिवेशनले आगामी नेतृत्व चयनसँगै जिल्लामा पार्टीको भावी रणनीति र संगठनात्मक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने विश्वास गरिएको छ।

Comment