क्वालालम्पुर । नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा पहिलो पटक भव्य सांगीतिक प्रस्तुति दिएको छ। साढे तीन दशक लामो सांगीतिक यात्रामा पहिलोपटक मलेसियामा पुगेको ब्यान्डले पर्यटकीय क्षेत्र बुकित बिन्ताङस्थित ‘जेप हल’मा आयोजित कन्सर्टमार्फत नेपाली दर्शकलाई झुमाएको हो।
आइतबार साँझ ‘कोसीको पानी’ गीतबाट सुरु भएको कन्सर्टमा नेपथ्यले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेको थियो। प्रस्तुति बीचमा गायक अमृत गुरुङले दर्शकसँग संवाद गर्दै देशप्रेम, नेपाली संस्कृति र मातृभूमिप्रतिको भावनाबारे सन्देश दिएका थिए। विभिन्न स्थानमा गीत सङ्कलनका क्रममा नेपाललाई नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै उनले दर्शकलाई स्वदेश फर्किएपछि ती स्थानहरू घुम्न आग्रह समेत गरे।
कन्सर्टमा मलेसियासहित विभिन्न मुलुकबाट नेपाली दर्शक सहभागी भएका थिए। सिङ्गापुरबाट विशेष रूपमा कन्सर्ट हेर्न आएका रेस्टुरेन्ट व्यवसायी पदम थापाले नेपथ्यका गीतले नेपालको विविध संस्कृति एकै मञ्चमा प्रस्तुत गरेको अनुभव सुनाए। उनले फरक–फरक पुस्ताका दर्शकलाई एउटै सांगीतिक वातावरणमा रमाउन सफल भएको भन्दै कार्यक्रमको व्यवस्थापन र प्रस्तुतिको प्रशंसा गरे।
नेपथ्यका लागि मलेसिया सांगीतिक प्रस्तुति दिएको २०औँ मुलुक बनेको छ भने क्वालालम्पुर ५८औँ विदेशी सहर बनेको छ। कार्यक्रममा मलेसियास्थित नेपाली दूतावासकी उपप्रमुख (चार्ज डि अफेयर्स) मुदिता बज्राचार्य पनि सहभागी थिइन्। उनले विदेशी भूमिमा नेपाली संगीतको यस्तो प्रस्तुति अनुभव गर्न पाउँदा गौरव महसुस भएको बताउँदै अमृत गुरुङले दिएका देशप्रेमका सन्देशले आत्मसम्मान र राष्ट्रिय भावनालाई थप बल दिएको प्रतिक्रिया दिइन्।
दर्शकमध्ये क्वालालम्पुरस्थित लिङ्कन विश्वविद्यालयमा अध्ययनरत सिमरन सेढाईंका लागि कन्सर्ट विशेष स्मरणीय बन्यो। स्कुले जीवनदेखि नै नेपथ्यका गीत मन पराउने उनी ‘यो जिन्दगानी’ गीत प्रत्यक्ष रूपमा सुन्दा भावुक बनेकी थिइन्। बाल्यकालदेखि नेपथ्यप्रतिको लगावका कारण आफू संगीततर्फ आकर्षित भएको उनले बताइन्।
झण्डै दुई घण्टा चलेको कन्सर्टको समापन ‘रातो र चन्द्रसूर्य’ गीतमार्फत गरिएको थियो। अन्तर्राष्ट्रियस्तरको प्रस्तुति स्थलका रूपमा परिचित जेप क्वालालम्पुरमा आयोजित कार्यक्रमपछि जापानी निर्देशक सिनिचिरो होन्डाले नेपथ्यले नेपाली मौलिकतालाई विश्वव्यापी स्वादसँग जोडेर प्रस्तुत गरेको टिप्पणी गरे। उनले संगीतदेखि व्यवस्थापनसम्म सम्पूर्ण कार्यक्रम स्तरीय रहेको प्रतिक्रिया दिए।
कन्सर्टमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी तथा किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए। मलेसियामा सफल प्रस्तुति सम्पन्न गरेपछि नेपथ्य टोली स्वदेश फर्किएको छ।

Comment