नेपाली कांग्रेसमा एकता प्रयास तीव्र, डा. शेखर कोइरालाद्वारा ५ बुँदे मध्यमार्गी प्रस्ताव अघि सारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान र पार्टी एकता कायम राख्ने उद्देश्यसहित नेता डा. शेखर कोइरालाले ५ बुँदे मध्यमार्गी प्रस्ताव अघि सारेका छन्। पार्टी सभापति गगन थापासँग निरन्तर संवादमा रहेका कोइरालाले संगठनभित्रको विभाजन रोक्न व्यावहारिक सहमतिको खाका प्रस्तुत गरेका हुन्।

कोइरालाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगरी १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण भएका सदस्यताकै आधारमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उनका अनुसार यसले विवाद न्यूनीकरण गर्दै महाधिवेशन प्रक्रिया सहज बनाउनेछ।

त्यसैगरी उनले १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको समितिलाई समायोजन गरी एउटै केन्द्रीय कार्यसमिति गठन गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्। यसले पार्टी संरचनामा दोहोरोपन हटाउने अपेक्षा गरिएको छ।

कोइरालाको प्रस्तावअनुसार कार्यसम्पादन समिति सभापतिको बहुमत रहने गरी गठन गर्नुपर्ने र निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति लगायतका महत्त्वपूर्ण समिति आपसी सहमतिका आधारमा मात्र गठन गर्नुपर्ने व्यवस्था गरिनुपर्ने उल्लेख छ।

पार्टी सभापति गगन थापाले पनि पार्टी एकता कायम राख्न आफू लचक हुन तयार रहेको संकेत दिएका छन्। उनले पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहलाई समेटेर १५औँ महाधिवेशन सम्पन्न गर्ने पक्षमा आफू रहेको बताउँदै आएका छन्।

यसैबीच, सभापति थापाले असन्तुष्ट समूहका १९ जना नेतालाई केन्द्रीय समितिमा समेटिसकेको स्रोतले जनाएको छ। पार्टीभित्र संवाद र सहमतिको वातावरण बढ्दै गएपछि एकताको सम्भावना बलियो बन्दै गएको देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।