काठमाडौं । शंकर ग्रुपको जगदम्बा मोटर्सले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ९ अर्ब रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले चालु आवको अर्धवार्षिक अवधि सकिँदासम्म ९ अर्ब ६ करोड ८० लाख रुपैयाँको बाइक तथा स्कुटर बेचेको हो ।
कम्पनीले गत आवमा १२ अर्ब ५५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२४ मा ८ अर्ब ७७ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ७ अर्ब ८१ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
दुई पाङ्ग्रे सवारी साधनको उच्च माग भएपछि कम्पनीको व्यापार एक वर्षमै ४३ प्रतिशतले बढेको थियो । टीभीएसका स्कुटर र बाइकको माग बढिरहँदा चालु आवको ६ महिनामा पनि व्यापार उच्च दरले बढेको देखिन्छ ।
व्यापार बढ्दा कम्पनीको नाफा मार्जिन केही घटेको छ । गत आवमा ७.०९ प्रतिशत रहेको सञ्चालन नाफा चालु आवको ६ महिनाको अवधिमा घटेर ६.१० प्रतिशत देखिएको छ ।सन् २०२३ मा १०.०२ प्रतिशतले नाफा मार्जिन निरन्तर कम हुँदै आएको देखिन्छ ।
सन् २०१० मा एसजी ग्लोबल प्रालिमा दर्ता भएको कम्पनी सन् २०१५ मा नाम परिवर्तन गरी जगदम्बा मोटर्स बनेको थियो । शंकर ग्रुपको यो कम्पनी टीभीएस मोटर्स कम्पनीको नेपालको लागि आधिकारिक विक्रेता हो ।
कम्पनीले टीभीएसको सम्पूर्ण सामग्री र प्रोटोन कार नेपालमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले चार पाङ्ग्रे विद्युतीय सवारी साधन जेएमईभी र चेरी ब्रान्डको कार पनि विक्री गर्दै आएको छ । कम्पनीले आफ्नो व्यापार विस्तार गर्दै जेडटीई ब्रान्डको स्मार्टफोनको पनि विक्री वितरण गर्ने भएको छ ।
साहिल अग्रवाल निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब ९७ करोड ९३ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४९ करोड ३७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ४८ करोड ५६ लाख रुपैयाँको रेटिङ गराएको हो ।

Comment