तेस्रो त्रैमासमा हिमालयन लाइफको नाफा ४५ प्रतिशत घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा नाफामा उल्लेख्य गिरावट देखिएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार साउनदेखि चैत मसान्तसम्म कम्पनीको खुद नाफा करिब ४५ प्रतिशतले घटेको हो।

कम्पनीले समीक्षा अवधिमा २६ करोड १४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ७२ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार कम्पनीको नाफा ४४.६६ प्रतिशतले घटेको देखिन्छ।

नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि संकुचन आएको छ। गत वर्ष ६ रुपैयाँ ८९ पैसा रहेको प्रतिशेयर आम्दानी घटेर यस वर्ष ३ रुपैयाँ ८१ पैसामा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०० रुपैयाँ ४५ पैसा कायम रहेको छ।

यद्यपि, कम्पनीको व्यवसाय विस्तार तथा कोषको आकारमा भने सकारात्मक सुधार देखिएको छ। कम्पनीको जीवन बीमा कोष १६.७१ प्रतिशतले वृद्धि हुँदै ८६ अर्ब ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बीमा शुल्क आर्जन पनि ६.१८ प्रतिशतले बढेर १२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

वित्तीय विवरणअनुसार कम्पनीको दाबी भुक्तानीमा उल्लेख्य वृद्धि भएको छ। कुल दाबी भुक्तानी १७.३२ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। दाबी भुक्तानीमा वृद्धि हुनुका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी १२.६७ प्रतिशतले घट्दा कम्पनीको नाफामा प्रत्यक्ष असर परेको देखिन्छ।

यता, कम्पनीको रिटेन्ड अर्निङमा भने उल्लेखनीय सुधार देखिएको छ। गत वर्ष ७० करोड २९ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ ४१.७४ प्रतिशतले बढेर ९९ करोड ६३ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीले आफ्नो कुल बीमालेख संख्या बढाएर ४ लाख २५ हजार ७५७ पुर्‍याएको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।