काठमाडौं । काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म भएका सवारी दुर्घटनामा १७४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये आधाभन्दा बढी युवा रहेका छन् ।
आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा चार हजार ६३१ वटा सवारी दुर्घटना भएका छन् । कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदी का अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये ९३ जना युवा रहेका छन् ।
प्रहरीका अनुसार १७ वर्षमुनिका सात जनाले ज्यान गुमाएका छन् भने १६ देखि ३५ वर्ष उमेर समूहका ८६ जनाको मृत्यु भएको छ । त्यस्तै, ३६ वर्षभन्दा माथिका ८१ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।
मृत्यु हुनेमध्ये १३८ जना पुरुष र ३३ जना महिला रहेका छन् । साथै, एक बालक र दुई बालिकाको पनि दुर्घटनामा मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन् भने चार हजार ९२७ जना सामान्य घाइते भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार तीव्र गति, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारी चलाउनु दुर्घटनाको मुख्य कारण बनेको छ । साथै, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने प्रवृत्तिले पनि दुर्घटना बढाएको प्रहरीले जनाएको छ ।
प्रहरीले सडक सुरक्षा नियम पालना गर्न, मापसे गरेर सवारी नचलाउन तथा सचेत भएर सवारी सञ्चालन गर्न सबै चालकलाई आग्रह गरेको छ ।

Comment