घरटहरा भत्काइएपछि प्रभावित विद्यार्थीलाई वेदव्यास र महर्षि स्कूलले निःशुल्क शिक्षा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा सरकारले घरटहरा भत्काउने अभियान सञ्चालन गरेपछि विस्थापित तथा प्रभावित भएका विद्यार्थीलाई लक्षित गर्दै दुई निजी विद्यालयले निःशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरेका छन्।

काठमाडौँको सामाखुशी चोकमा सञ्चालित वेदव्यास स्कूल ले आज एक सूचना जारी गर्दै घरटहरा भत्काउने क्रममा असुविधामा परेका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क भर्ना तथा पठनपाठनको व्यवस्था गर्ने जनाएको हो।

विद्यालयका प्राचार्य ओमकार लम्सालका अनुसार कुनै पनि विद्यार्थी शिक्षा प्राप्तिबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। उहाँले प्रभावित विद्यार्थी तथा अभिभावकलाई विद्यालयसँग सम्पर्क गर्न आग्रह गर्दै ०१४९८८१६२ वा ९८४१३०१५२२ मा सम्पर्क गर्न सकिने जानकारी दिनुभयो।

यसैगरी महर्षि स्कूल ले पनि घरटहरा हटाउने क्रममा प्रभावित भएका विद्यार्थीका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरेको छ।

विद्यालयका प्राचार्य निर्मल पौडेलका अनुसार पछिल्लो समय काठमाडौंका विभिन्न क्षेत्रमा भएको डोजर कारबाहीका कारण धेरै परिवार विस्थापित भएका छन्, जसले बालबालिकाको पठनपाठनमा गम्भीर असर पारेको छ। सोही अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगस्वरूप निःशुल्क शिक्षा दिने निर्णय गरिएको उहाँले बताउनुभयो।

विद्यालयले प्रभावित विद्यार्थीलाई निःशुल्क भर्ना गरी अध्ययन गराउने व्यवस्था गर्ने बताउँदै आवश्यक सहयोगका लागि यथाशीघ्र विद्यालय प्रशासनसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

महर्षि स्कूलले ९८५११९२१४२ वा ९८४१००३२२१ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।

दुवै विद्यालयको यो कदमलाई शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्वको सकारात्मक पहलका रूपमा लिइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।