नेपाल पल्प एन्ड पेपरले परीक्षण उत्पादनकै अवधिमा ३० करोड २० लाखको कारोबार गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालको वित्तीय क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बोकेको आईएमई ग्रुप र उत्पादनमूलक क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव हासिल गरेको एभरेष्ट ग्रुपको संयुक्त लगानीमा स्थापित ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज’ले परीक्षण उत्पादनको छोटो अवधिमै ३० करोड २० लाख रुपैयाँको व्यापार गर्दै उत्साहजनक सुरुवात गरेको छ।

सन् २०२१ जनवरी २० मा दर्ता भएको कम्पनीले सन् २०२५ जुलाई (२०८२ असार/साउन) देखि प्रिन्टिङ पेपरको पूर्ण व्यावसायिक उत्पादन सुरु गरेको हो। त्यसअघि सन् २०२५ अप्रिल १ देखि करिब साढे तीन महिना सञ्चालन गरिएको परीक्षण उत्पादन अवधिमा करिब ५० प्रतिशत क्षमता उपयोग गर्दै कम्पनीले उल्लेखनीय व्यापार गर्न सफल भएको थियो।

परीक्षण अवधिमा कम्पनीले ७.१ प्रतिशत सञ्चालन मुनाफा हासिल गरेको प्रतिवेदनमा उल्लेख छ। वार्षिक २१ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको उद्योगले आगामी दिनमा बैंक, अस्पताल तथा सरकारी निकायसँग सहकार्य गर्दै बजार विस्तार गर्ने रणनीति अघि सारेको छ।

तर, प्रारम्भिक उपलब्धिसँगै कम्पनीले उच्च वित्तीय भारको चुनौती पनि सामना गरिरहेको छ। सुरुमा १ अर्ब ४० करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजनाको लागत मेसिनरी थप र निर्माण अवधि लम्बिँदा ५६ प्रतिशतले बढेर २ अर्ब २० करोड रुपैयाँ पुगेको छ। निर्माण ढिलाइका कारण ब्याज खर्च (आईडीसी) समेत बढेको देखिएको छ।

पुँजी संरचनामा ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजी रहेको यस परियोजनामा ऋणको भार उच्च छ। सन् २०२५ जुलाई मध्यसम्म कम्पनीको ऋण–नेटवर्थ अनुपात (गियरिङ रेसियो) ४.३ गुणा पुगेको छ, जसले सुरुवाती वर्षहरूमा ऋणको किस्ता र ब्याज भुक्तानीमा दबाब पर्ने देखिएको छ।

यसैबीच, विदेशी ब्रान्डका कागजसँगको प्रतिस्पर्धा कम्पनीका लागि अर्को प्रमुख चुनौती बनेको छ। सरकारले आर्थिक वर्ष २०२६ का लागि प्रिन्टिङ पेपरको आयात शुल्क २० प्रतिशतबाट घटाएर १५ प्रतिशत कायम गरेपछि स्वदेशी उद्योगलाई प्रतिस्पर्धामा थप दबाब पर्ने विश्लेषण गरिएको छ।

कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव पनि जोखिमका रूपमा देखिएको छ। विशेषगरी पुराना कागज, पल्प र रसायनको मूल्य वृद्धि–घटले उत्पादन लागत र नाफामा प्रत्यक्ष असर पार्न सक्नेछ।

यद्यपि, कम्पनीले वित्तीय अनुशासनमा सुधार गर्दै क्रेडिट रेटिङमा प्रगति गरेको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको १ अर्ब ५६ करोड १० लाख रुपैयाँको दीर्घकालीन कर्जाको रेटिङ ‘एलबी’ बाट बढाएर ‘एलबी प्लस’ कायम गरेको छ। साथै, ४३ करोड ६० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘एफोर’ रेटिङलाई पुनः पुष्टि गरिएको छ।

अघिल्लो अवधिमा ऋण भुक्तानीमा देखिएको ढिलाइलाई सुधार गर्दै कम्पनीले पछिल्लो एक वर्षमा आफ्ना वित्तीय दायित्व समयमै पूरा गरेको इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ। अनुभवी प्रवर्द्धकहरूको संलग्नताले कम्पनीको सञ्चालन क्षमता थप मजबुत हुने अपेक्षा गरिएको छ।

कम्पनीको अध्यक्षमा चन्द्रप्रसाद ढकाल रहेका छन्। प्रमुख प्रवर्द्धकहरूमा वन क्यापिटल होल्डिङ्स (३६ प्रतिशत), सुलोचना देवी सर्राफ (२० प्रतिशत), होमनाथ ज्ञवाली (१६ प्रतिशत) र सुनील गोपाल श्रेष्ठ (१५ प्रतिशत) रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।