लोकरक लिएर न्युजिल्यान्डतर्फ लाग्दै नेपथ्य, कहिले हुँदैछ कन्सर्ट?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालको चर्चित लोकरक ब्यान्ड नेपथ्य न्युजिल्यान्डमा साङ्गीतिक प्रस्तुति दिन प्रस्थान गर्ने भएको छ। ब्यान्ड टोली सोमबार त्यसतर्फ उड्ने तयारीमा रहेको छ भने यसपटकको यात्रा विशेष रूपमा दक्षिणी गोलार्ध केन्द्रित रहने जनाइएको छ।

विदेशमा कार्यक्रम लिएर जाने क्रममा अमेरिका, क्यानडा वा अस्ट्रेलियासँगै न्युजिल्यान्ड पुग्ने चलन रहे पनि नेपथ्यले भने यहाँका सीमित नेपाली समुदायलाई सम्मान गर्दै छुट्टै रूपमा न्युजिल्यान्डमै केन्द्रित साङ्गीतिक यात्रा अघि बढाएको हो।

यसपटक ब्यान्डले न्युजिल्यान्डको उत्तर टापुस्थित व्यस्त सहर अकल्यान्ड रोजेको छ। आगामी मे १० आइतबार साँझ त्यहाँको ड्यु ड्रप इभेन्ट सेन्टर मा भव्य प्रस्तुति हुने तय भएको छ।

नेपथ्यले यसअघि सन् २०१७ मा पनि अकल्यान्डमै प्रस्तुति दिएको थियो, जहाँ उनीहरू स्काई सिटी थिएटर मा प्रस्तुत भएका थिए। यसपटकको कार्यक्रमप्रति दर्शकको चासो उच्च देखिएको आयोजक रोजन भट्टराईले बताएका छन्। उनका अनुसार टिकट बुकिङ तीव्र गतिमा भइरहेको छ।

स्थानीय आयोजक टोलीले नेपथ्यलाई न्युजिल्यान्डको आदिवासी माउरी समुदायको परम्परागत ‘हाका’ शैलीमा स्वागत गर्ने तयारी गरेको छ।

पछिल्ला वर्षहरूमा अध्ययनका लागि न्युजिल्यान्ड नेपालीहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। यहाँ स्थायी बसोबास गर्ने नेपालीको सङ्ख्या पनि बढ्दो क्रममा छ।

ब्यान्डका मुख्य गायक अमृत गुरुङ ले न्युजिल्यान्डसँग भावनात्मक सम्बन्ध रहेको उल्लेख गरेका छन्। उनले प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारी लगायत नेपालप्रेमी व्यक्तित्वहरूको सम्झना गर्दै न्युजिल्यान्डप्रति आफ्नो सम्मान प्रकट गरेका छन्।

नेपथ्य व्यवस्थापन सम्हाल्दै आएको नेपालय का किरणकृष्ण श्रेष्ठका अनुसार यो यात्रा नौ वर्षअघि सुरु गरिएको प्रयासको निरन्तरता हो, जसलाई यसपटक अस्ट्रेलियासँग नजोडी केवल न्युजिल्यान्डमै केन्द्रित गरिएको छ।

कन्सर्टमा अमृत गुरुङसँगै ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।