काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्म नेपालका निर्जीवन बीमा कम्पनीहरूले उल्लेखनीय व्यापार वृद्धि गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले २२ लाख ९ हजार ९८६ वटा बीमालेख जारी गर्दै कुल ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा २१ लाख ३५ हजार २३३ बीमालेखबाट ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो। यस आधारमा चालु वर्षमा निर्जीवन बीमा क्षेत्रको व्यापार १३.८६ प्रतिशतले वृद्धि भएको देखिएको छ।
तथ्यांकअनुसार समीक्षा अवधिमा सबै १४ वटै कम्पनीको व्यापार बढेको छ। बीमाशुल्क संकलनका आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले चैतसम्म ४ अर्ब ८० करोड १२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा १०.४८ प्रतिशत वृद्धि गरेको छ।
दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ, जसले ३ अर्ब ८३ करोड २३ लाख रुपैयाँ संकलन गर्दै २.४९ प्रतिशत वृद्धि हासिल गरेको छ। त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स ३ अर्ब ७४ करोड ३० लाख रुपैयाँ बीमाशुल्कसहित तेस्रो स्थानमा रहँदा यसको व्यापार ३४.३७ प्रतिशतले बढेको छ।
अन्य कम्पनीहरूमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १२ करोड ९ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब १० करोड ३३ लाख रुपैयाँ, र एनएलजी इन्स्योरेन्सले ३ अर्ब १ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। वृद्धि दरका हिसाबले भने एनएलजी इन्स्योरेन्स ४१.०४ प्रतिशतका साथ अग्रस्थानमा देखिएको छ।
यसैगरी नेको इन्स्योरेन्सले २ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, जसमा युनाइटेड अजोडको वृद्धि दर ३८.२६ प्रतिशत रहेको छ।
अन्य कम्पनीहरूमा ओरिएन्टल इन्स्योरेन्स, सानिमा जीआईजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र नेसनल इन्स्योरेन्सले पनि उल्लेखनीय बीमाशुल्क संकलन गर्दै अघिल्लो वर्षको तुलनामा स्थिर वृद्धि हासिल गरेका छन्।
समग्रमा, निर्जीवन बीमा क्षेत्रमा देखिएको दोहोरो अंकको वृद्धि दरले बीमा पहुँच विस्तार र बजारको सुदृढीकरणतर्फ सकारात्मक संकेत गरेको विश्लेषकहरू बताउँछन्।


Comment