काठमाडौं । किया इन्डियाले ग्राहकहरूको बदलिँदो आवश्यकता र सुझावलाई ध्यानमा राख्दै आफ्नो लोकप्रिय मोडेल साइरोसको नयाँ संस्करण ‘साइरोस मोडेल वर्ष २०२६ (एमवाई २६)’ सार्वजनिक गरेको छ। नयाँ संस्करणले प्रिमियम डिजाइन, अत्याधुनिक प्रविधि र उच्च सुरक्षा मापदण्डलाई समेट्दै बजारमा प्रवेश गरेको हो।
कम्पनीका अनुसार यस गाडीको सुरुवाती मूल्य ८ लाख ३९ हजार ९०० भारतीय रुपैयाँ तोकिएको छ, जसले प्रिमियम सुविधासहितको गाडीलाई अझ व्यापक ग्राहकको पहुँचमा पुर्याउने लक्ष्य राखेको छ। सुरक्षा पक्षमा पनि गाडीले उत्कृष्ट प्रदर्शन गर्दै भारत न्यू कार असेस्मेन्ट प्रोग्राम बाट फाइभ-स्टार रेटिङ प्राप्त गरेको जनाइएको छ।
नयाँ साइरोस एमवाई २६ मा एचटीई, एचटीई (ओ), एचटीके प्लस (ओ) र एचटीएक्स (ओ) गरी चारवटा नयाँ ट्रिमहरू समावेश गरिएको छ। बाहिरी डिजाइनलाई अझ आकर्षक र स्पोर्टी बनाउन अगाडि तथा पछाडिका बम्परमा परिमार्जन गरिएको छ भने बडी-कलर्ड एरो इन्सर्ट्स, ग्लसी ब्ल्याक स्किड प्लेट्स र एलइडी फग ल्याम्पहरू जस्ता फिचरहरू थपिएका छन्।
गाडीमा आर१७ (४३.६६ सेमी) को स्पोर्टी क्रिस्टल कट एलोय ह्विल, नियोन ब्रेक क्यालिपर, ग्लसी ब्ल्याक रूफ रेल्स तथा बडी कलर्ड साइड गार्निसले यसको साइड प्रोफाइललाई थप आकर्षक बनाएको छ। साथै म्याग्मा रेड, आइभोरी सिल्भर म्याट र आइभोरी सिल्भर ग्लस जस्ता नयाँ रङ्ग विकल्पहरू पनि उपलब्ध गराइएको छ।
भित्री संरचनातर्फ ७६.२ सेमी (३० इन्च) को ट्रिनिटी प्यानोरामिक डिस्प्ले, डुअल-पेन प्यानोरामिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट र स्ट्रिमलाइन डोर ह्यान्डल जस्ता विलासी सुविधाहरू समावेश छन्। दोस्रो रो सिटमा रेक्लाइन र स्लाइड सुविधा, साथै ६०:४० अनुपातमा फोल्ड गर्न मिल्ने व्यवस्था रहेको छ, जसले यात्रुलाई थप आरामदायी अनुभव प्रदान गर्छ।
सुरक्षाका दृष्टिले २० भन्दा बढी उन्नत सुरक्षा फिचरहरू समावेश गरिएको यस गाडीमा ८० भन्दा बढी कनेक्टेड कार सुविधाहरू, ओटीए अपडेट र किया कनेक्ट डायग्नोस्टिक्स जस्ता आधुनिक प्रविधि उपलब्ध छन्। शहरको भीडभाडमा सहज ड्राइभिङका लागि डिजाइन गरिएको साइरोसले भित्री स्पेस र यात्रुको आराममा पनि विशेष ध्यान दिएको छ।
इन्जिन तथा ट्रिमअनुसार गाडीका मूल्यहरू फरक–फरक निर्धारण गरिएका छन्। पेट्रोल म्यानुअल भेरियन्ट ८,३९,९०० रुपैयाँबाट सुरु भई ११,९९,९०० रुपैयाँसम्म पुग्छ भने पेट्रोल अटोमेटिक ११,९३,९०० रुपैयाँदेखि १४,९९,९०० रुपैयाँसम्म उपलब्ध छ। त्यस्तै, डिजेल म्यानुअल ९,९९,९०० रुपैयाँदेखि १२,७९,९०० रुपैयाँसम्म र डिजेल अटोमेटिक १२,७३,९०० रुपैयाँदेखि १५,७९,९०० रुपैयाँसम्म तोकिएको छ।
यस अपडेटमार्फत किया इन्डियाले किफायती मूल्यमा प्रिमियम, सुरक्षित र प्रविधिमैत्री ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

Comment