काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सिंहदरबारभित्रै प्रवेश गरेर सरकारविरुद्ध प्रदर्शन गरेको छ।
आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त्रिपरिषद् बैठक चलिरहेका बेला नेविसंघका कार्यकर्ताहरूले सिंहदरबार परिसरमै पुगेर विरोध प्रदर्शन गरेका हुन्।
गृहमन्त्रीको राजीनामा र बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने माग राख्दै गरिएको उक्त प्रदर्शनबारे नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्री कार्यालयअगाडि नै नाराबाजीसहित प्रदर्शन गरिएको थियो।
प्रदर्शनमा भुवन भट्ट, कुम्भराज देउवा, मञ्जन देवकोटा, प्रज्ञा योगी, सुनिल ऐडिलगायत नेताहरूको सहभागिता रहेको थियो। उनीहरूले गृहमन्त्रीमाथि उठेका नैतिक प्रश्नको छानबिनका लागि पदबाट मार्गप्रशस्त गर्नुपर्ने र सरकार जनताप्रति जवाफदेही हुनुपर्ने माग गरेका थिए।
नेता भट्टले जनताको विश्वास जितेको सरकारले जनताप्रति उत्तरदायी व्यवहार देखाउनुपर्ने बताउँदै गम्भीर आरोप लागेका मन्त्रीले छानबिनका लागि पद त्याग्नु नै उचित हुने धारणा व्यक्त गरे।
प्रदर्शनका क्रममा नाराबाजी गर्दै सरकारविरुद्ध विरोध जनाइरहेका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Comment