नेप्सेमा ३३ अंकको वृद्धि, साढे १० अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (बुधबार) ३३.२७ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.१७ प्रतिशतले बढेको नेप्से २८६६.८७ विन्दुमा अडिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले बढेर ४८१.८७ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा १.०९ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स १.११ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०२ प्रतिशतले बढेको छ।

सेयरबजारमा बुधबार ३४४ कम्पनीको एक लाख २३ हजार ३५९ पटकको कारोबारमा दुई करोड ६४ लाख ३८ हजार ५२१ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार १० अर्ब ५३ करोड ७० लाख आठ हजार ७९६ रुपैयाँको कारोबार भयो। सोमबार भने आठ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँको कारोबार भएको थियो। मंगलबार नयाँ वर्षको सार्वजनिक बिदा भएका कारण नेप्सेमा कारोबार भएन।

नेप्सेमा आज १३ समूहका कारोबार भएकामा सबै समूहको सूचक बढ्दै हरियाली छाएको छ। जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक १.३०‚ विकास बैंक १.५३‚ फाइनान्स १.२१‚ होटेल तथा पर्यटन ३.१६‚ जलविद्युत् २.१४‚ लगानी समूह ०.८९‚ जीवन बिमा ०.४६ प्रतिशतले बढ्यो।

यसैगरी उत्पादन तथा प्रशोधन ०.११‚ लघुवित्त ०.६४‚ म्युचुअल फन्ड ०.५६‚ निर्जीवन बिमा ०.३९‚ अन्य ०.११ र व्यापार समूहको उपसूचक २.३३ प्रतिशतले बढे।

नेप्सेमा बुधबार पाँच कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागे। सकारात्मक सर्किट लाग्नेमा रिजलाइन इनर्जी लिमिटेड‚ सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी‚ होटेल फरेस्ट इन नेपाल‚ सिन्धु विकास बैंक लिमिटेड र पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड छन्। अर्थात् यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।

यस्तै रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले ५.६१ प्रतिशतले घाटा बेहोरे।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेड अग्रस्थानमा रह्यो। आज शिवमको ५८ करोड नौ लाख ६३ हजार ४३८ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा अगाडि रह्यो। नेसनलको सेयर बुधबार १७ लाख २८ हजार ३९८ कित्ता किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३२४ रुपैयाँ कायम रह्यो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।