विशेष महाधिवेशन विवाद चर्कियो, नुवाकोट कांग्रेस दुई कित्तामा विभाजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर चर्किएको विवादले पार्टीमा ठुलै भुइँचालो ल्याएको छ। केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थन र आह्वानमा अघि बढाइएको विशेष महाधिवेशनलाई अवैधानिक भन्दै फिर्ता लिन आग्रह गरिए पनि त्यसको असर जिल्ला तहसम्म तीव्र रूपमा देखिन थालेको छ।

महामन्त्रीद्वयले जसरी पनि विशेष महाधिवेशन गराएरै छाड्ने अडान लिँदै आएका बेला नुवाकोट जिल्लामा पनि त्यसको समर्थनमा सहभागिताका लागि आह्वान सुरु भएको छ। पार्टीका प्रभावशाली नेता अर्जुननरसिंह केसी र बहादुरसिंह लामाको प्रभाव रहेको नुवाकोट–२ मा क्षेत्रीय अध्यक्षले विशेष महाधिवेशनमा सहभागी हुन अपिल जारी गरेका छन्।

त्यसैगरी, डा. प्रकाशशरण महतको बलियो प्रभाव मानिने नुवाकोट–१ बाट पनि क्षेत्रीय सचिवद्वय जगदीश कुँइकेल र शिव गुणीले विशेष महाधिवेशनमा सहभागिताका लागि आह्वान गरेका छन्। उनीहरूले क्षेत्रीय समितिको लेटरप्याड प्रयोग गर्दै वर्तमान विशेष परिस्थितिमा कांग्रेसको आन्तरिक जीवनलाई गतिशील बनाउन विशेष महाधिवेशन अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। दुवै सचिव महामन्त्री गगन थापा निकट मानिन्छन्।

उता नुवाकोट–१ का क्षेत्रीय अध्यक्ष ध्रुव श्रेष्ठले भने विशेष महाधिवेशनले पार्टी विभाजनतर्फ धकेल्ने भन्दै त्यसमा सहभागी नहुन अर्को अपिल जारी गर्ने तयारी गरेका छन्।

यसैबीच, सो क्षेत्रमा रहेका महाधिवेशन प्रतिनिधिमध्ये करिब दुई तिहाइ नियमित महाधिवेशनकै पक्षमा रहेको दाबी संस्थापन पक्षले गरेको छ। २६ जना महाधिवेशन प्रतिनिधिमध्ये जम्मा पाँच जनाले मात्रै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको उनीहरूको भनाइ छ।

तर नुवाकोट–२ मा भने बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको क्षेत्रीय अध्यक्ष जगत लामाले यसअघि नै दाबी गरिसकेका छन्।

यसै क्रममा नुवाकोटबाट हालसम्म शिव अधिकारीले विशेष महाधिवेशनको समर्थनमा गरेको हस्ताक्षर फिर्ता लिएका छन्। नुवाकोट–१ का अधिकारीले विशेष महाधिवेशनले कांग्रेस विभाजनको जोखिम बढाउने भन्दै हस्ताक्षर फिर्ता लिएको बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।