काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा झन्डै आधा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा ५ प्रतिशत नाघेको छ ।
निष्क्रिय कर्जा बैंकले दिएको कर्जा समयमा असुल नहुने अवस्था हो । यसले बैंकहरूको कर्जा जोखिम बढाएको संकेत गर्छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा देशभरका ५४ वटा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा ५.२६ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिको ४.४२ प्रतिशतको तुलनामा उल्लेख्य बढी हो। आर्थिक गतिविधि सुस्त हुँदा र कर्जा लिने पक्षको ऋण तिर्ने क्षमता कमजोर भएपछि यस्तो अवस्था आएको विश्लेषण गरिन्छ। कोभिड महामारीपछि बैंकहरूले निक्षेप र कर्जा प्रवाह बढाए पनि असुल कमजोर भएकाले जोखिम बढेको जानकारहरू बताउँछन् ।
यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले करिब ७५ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५६ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। कर्जा प्रवाह अपेक्षित गतिमा बढेको छैन । कर्जा असुली कठिन बन्दै गएकाले प्रवाहमा पनि सुस्तता छाएको बैंकरहरू बताउँछन् ।
विशेष गरी वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा ५.०३ प्रतिशत र विकास बैंकहरूको ६.०३ प्रतिशत छ । यस्तै वित्त कम्पनीहरूको निष्क्रिय कर्जा १२.५२ प्रतिशत पुगेको छ, जुन निकै उच्च मानिन्छ।
जानकारहरूका अनुसार आर्थिक गतिविधि सुस्त, औद्योगिक उत्पादन कम, र व्यवसायहरूमा नाफा घटेकाले कर्जा तिर्न कठिनाइ भएको हो । यस्तै कर्जा तिर्ने क्षमता कमजोर हुनु, आयात–निर्यात घट्नु र नयाँ लगानीको सम्भावना सीमित हुनु निष्क्रिय कर्जा वृद्धि गर्ने मुख्य कारण हुन्।
अहिले बैंकहरूमा लगानीयोग्य रकम प्रशस्त भएपनि कर्जा प्रवाह हुन सकेको छैन । लगानीकर्ताहरूको मनोबल बढाउन नसक्दा पनि एकातिर असुलीमा समस्या भइरहेको छ भने अर्कातिर लगानी बढ्न नसकेको हो ।
अहिले निष्क्रिय कर्जा सबै बैंक तथा वित्तीय संस्थाको टाउको दुखाउने विषय बनिरहेको छ । असुलीमै ध्यान केन्द्रित गर्दा पनि बैंकिङ प्रणालीमा रकम ल्याउन सकिएको छैन । जसले निष्क्रिय कर्जा घटाउन नसकिएको हो ।
जानकारहरूका अनुसार निष्क्रिय कर्जा वृद्धि केवल बैंकको समस्या मात्र होइन, समग्र अर्थतन्त्रको अवस्था प्रतिबिम्बित गर्ने संकेत हो। निष्क्रिय कर्जा बढ्दै जाँदा अर्थतन्त्रको गतिशीलतामा समेत असर पर्ने उनीहरू बताउँछन् ।

Comment