काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश सुगौली सन्धिपछिकै सबैभन्दा गम्भीर र असाधारण संकटमा फसेकाले राष्ट्र बचाउनकै लागि कम्युनिष्टहरू एक ठाउँमा उभिनु परेको बताएका छन्।
उनले यो एकता कुनै चुनावी वा प्राविधिक गठबन्धन नभई राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्नुपर्ने ऐतिहासिक आवश्यकताको उपज भएको स्पष्ट पारे।
बुधबार राष्ट्रिय सभागृहमा आयोजित नेता डा. भीम रावल र प्रमोद नारायण यादवको समूहलाई पार्टीमा स्वागत तथा समायोजन गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देशको संकटले आफूहरूलाई एक हुन बाध्य पारेको बताए।
‘अहिले देश असाधारण संकटमा छ। नेपालको राष्ट्रिय स्वाधीनता, नेपाली जनताको आत्मसम्मान, नेपालको भौगोलिक अखण्डता र नेपाली जनताको आत्मनिर्णयको अधिकार इतिहासमा यति संकटमा सायद कहिल्यै परेको थिएन,’ दाहालले भने, ‘सुगौली सन्धिपछिको जस्तो स्थिति हेर्ने हो भने देश अहिले असाधारण संकटमा छ। त्यसकारण यो एकता राष्ट्र बचाउनु पर्ने ऐतिहासिक आवश्यकताले आइपरेको हो।’
उनले हालैको जेन-जी आन्दोलनले आफूहरूलाई गहिरोसँग झक्झक्याएको र आत्मालोचना गर्न बाध्य पारेको समेत स्वीकार गरे।
‘जेन-जी आन्दोलनका क्रममा युवाहरूले उठाएका विषय, उनीहरूको आवाजले हामी सबैलाई राम्रैसँग घचघच्यायो,’ उनले भने, ‘त्यसले हामीलाई गल्ती कहाँ छन् भन्नेबारे आत्मसमीक्षा गर्न, आफैँलाई बदल्न र एकताका लागि एउटा ऐतिहासिक संकल्प गर्न प्रेरित गर्यो।’
कार्यक्रममा नेता डा. भीम रावलको आगमनको विशेष प्रशंसा गर्दै दाहालले यसले कम्युनिष्ट आन्दोलनलाई पूर्णता दिन मद्दत पुगेको बताए।
‘सिंगै कम्युनिष्ट आन्दोलनका हजारौँ र लाखौँ नेता-कार्यकर्ताहरूले जसलाई प्रतीक्षा गरिरहेका थिए, ती नेता कमरेड भीम रावलको आजको समायोजनले देश-विदेशमा रहेका सबै स्वाभिमानी नेपालीमा नयाँ आत्मविश्वास र ऊर्जा दिएको छ,’ उनले भने।
अब बन्ने पार्टीमा कुनै आग्रह-पूर्वाग्रह नराखी मार्क्सवादको आधारमा देश र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे।

Comment