काठमाडौं । इजरायल–हमास युद्धबिरामको पहिलो चरणको सम्झौता कार्यान्वयनको तयारीसँगै अपहृत नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको आशा बलियो बनेको छ। तर, उनको हालको स्थिति अझै अज्ञात रहेको अन्तर्राष्ट्रिय समाचार माध्यम सीएनएनले जनाएको छ।
अमेरिकाको पहलमा इजरायल र हमासबीच भएको पहिलो चरणको युद्धविराम सम्झौताले बन्धकहरूको मुक्तिको बाटो खोलेको हो। उक्त सम्झौता अन्तर्गत सोमबार २० जना जीवित इजरायली बन्धक रिहा हुने तय भएको छ। यद्यपि, प्राथमिकता इजरायली नागरिकलाई दिइएको कारण नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ केही ढिलो हुन सक्ने अनुमान गरिएको छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलको किबुत्स अलुमिममा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीमध्येको एक रहेका विपिन जोशी अपहरणमा परेका थिए। त्यसयता उनीबारे विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समय–समयमा रिपोर्ट सार्वजनिक गर्दै आएका छन्। गत वर्ष हमासले सार्वजनिक गरेको ‘अलबिदा फोटो’ र इजरायली सेनाले फेला पारेको भिडियोले उनी जीवित रहेको संकेत दिएको थियो। तर, ती प्रमाण एक वर्ष पुराना भएकाले हाल उनको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।
सीएनएनको पछिल्लो रिपोर्टअनुसार विपिन जोशी र २५ वर्षीय इजरायली नागरिक तामिर निम्रोदीको अवस्था “अज्ञात” रहेको बताइएको छ। इजरायली अधिकारीहरूले दुवैको जीवनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
अपहरणमा परेका ४८ बन्धकमध्ये अहिलेसम्म २६ जनाको मृत्यु पुष्टि भइसकेको छ भने बाँकी २२ जनाको अवस्थाबारे स्पष्ट विवरण आएको छैन। विपिन जोशी तिनैमध्ये एक हुन्, जसको बारेमा अझै कुनै निश्चित सूचना प्राप्त भएको छैन।

विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले विगत वर्षदेखि नै उनको खोजी र रिहाइका लागि निरन्तर अभियान चलाई आएका छन्। उनीहरूले इजरायलसम्म पुगेर सम्बन्धित अधिकारीहरूसँग भेटघाटसमेत गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्धविराम सम्झौतालाई “शान्तिको ऐतिहासिक अवसर” को रूपमा प्रस्तुत गरेका छन्। तर, नेपाली पक्षका लागि यो सम्झौताले वास्तविक राहत कहिले ल्याउने भन्ने प्रश्न भने अझै अनुत्तरित नै देखिएको छ।


Comment