काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालका वाणिज्य बैंकहरूले झन्डै ५४ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको साउनदेखि जेठ मसान्तसम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरूले ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। तर, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाफा ४.९७ प्रतिशतले घटेको छ। गत वर्ष यिनै बैंकहरूले ११ महिनामा ५६ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए।
समिक्षा अवधिमा नाफा आर्जनमा नबिल बैंक अग्रस्थानमा देखिएको छ। बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.१० प्रतिशत मात्र वृद्धि हो। नबिललाई ग्लोबल आइएमई बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गर्दै पछ्याएको छ। ग्लोबलको नाफा वृद्धिदर भने उल्लेखनीय १८.५९ प्रतिशत रहेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहेको छ, जसले २९.८३ प्रतिशतले नाफा बढाउँदै ५ अर्ब ६८ करोड ८२ लाख रुपैयाँ कमाएको छ।
एभरेष्ट बैंकले ४ अर्ब २४ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गर्दै चौथो स्थानमा उक्लिएको छ। बैंकको नाफा २८ प्रतिशतले वृद्धि भएको छ। यस्तै, नेपाल बैंकको नाफा वृद्धिदर सबैभन्दा उच्च देखिएको छ। बैंकले १८५.२७ प्रतिशतले नाफा बढाउँदै ३ अर्ब ७ करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ। अन्य बैंकहरूमध्ये माछापुच्छ्रे बैंकले १७.५३ प्रतिशत, एनएमबि बैंकले ९.१८ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ८.६३ प्रतिशत र सानिमा बैंकले ३.१३ प्रतिशत नाफा वृद्धि गरेका छन्।
तर, केही बैंकहरूको नाफामा उल्लेखनीय गिरावट देखिएको छ। कुमारी बैंकको नाफा सबैभन्दा धेरै ७७.८४ प्रतिशतले घट्दै ३७ करोड १० लाख रुपैयाँमा सीमित भएको छ। यस्तै, हिमालयन बैंकको नाफा ६७.२७ प्रतिशत, एनआईसी एशिया बैंकको ६२.८८ प्रतिशत, कृषि विकास बैंकको ३९.८५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २८.०९ प्रतिशत, प्रभु बैंकको २३.८० प्रतिशत, सिटिजन बैंकको १९.६६ प्रतिशत र प्राइम बैंकको १८.२९ प्रतिशतले घटेको छ।
यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा ९.७० प्रतिशत, नेपाल एसबिआई बैंकको ६.९६ प्रतिशत र सिद्धार्थ बैंकको २.२९ प्रतिशतले गिरावट आएको छ। बैंकहरूको नाफामा देखिएको यो उतारचढावले हालको आर्थिक वातावरण, ब्याजदरको प्रभाव, कर्जाको प्रवाह, तथा जोखिम व्यवस्थापन क्षमताको असर देखाउँछ। आगामी दिनमा बैंकिङ क्षेत्रले सन्तुलित विकासका लागि खर्च नियन्त्रण, सेवा नविकरण र लगानी विस्तारमा थप ध्यान दिनुपर्ने देखिन्छ।
Comment