काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। लगातार छैठौँ दिनसम्म वृद्धि भएको नेप्से सूचक आज २२.३५ अंकले घट्दै २७ सय विन्दुबाट तल झरेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार ३९ वटा कम्पनीको सेयरमूल्य बढेको भए पनि २०९ कम्पनीको सेयर घटेको छ। बजारमा कुल १ करोड ९४ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।
मूल्य वृद्धिका हिसाबले माथिल्लो मैलुङ खोला, कर्पोरेट डेभलपमेन्ट बैंक, भगवती हाइड्रोपावर, सिन्धु विकास बैंक, र क्रेस्ट माइक्रोको सेयरमा उच्च प्रतिशतको वृद्धि भएको छ। यता, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, गुडविल फाइनान्स डिबेन्चर, ग्रिन डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, समृद्धि फाइनान्स लगायतका कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
उच्च कारोबार गर्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी अगाडि देखिएको छ, जसको एकैदिन ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २४ करोड, साहस ऊर्जा २० करोड र ङादी ग्रुप पावरको १९ करोड रुपैयाँको कारोबार भएको छ।
बजार विश्लेषकहरूका अनुसार पछिल्लो केही दिनको निरन्तर उकालो यात्रा पछि आएको आजको गिरावटलाई सामान्य समायोजनको संकेतका रूपमा लिइएको छ।

Comment