ओलीलाई शर्माको जवाफ : शरणार्थी काण्डमा दोषी-निर्दोष छुट्याउन तपाईं न्यायाधीश होइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष र दोषी छानबिन गर्ने कुरा नेपाल प्रहरीले गर्ने बताएका छन्। 

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा महामन्त्री शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिँदै यो प्रकरणमा प्रहरीले दोषी र निर्दोष छुट्याउने बताएका हुन्। 

‘केपी शर्मा अ‍ोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउने प्रयास भइरहेको छ भन्नुभयो। को दोषि को निर्दोषी नेपाल प्रहरीले छानबिन गर्दैछ। यहाँबाट फैसला सुनाउनका लागि हामी न्यायाधीश होइनौं। कि अमुक कोही दोषी हुनुहुन्न निर्दोष हुनुहुन्छ। उहाँलाई फसाउन खोजिँदैछ भन्ने अभिव्यक्ति राखिने कुरामा विमति प्रकट गर्दछु। यो प्रकरणमा कोही आवेगमा आउनु जरुरी छैन,’ उनले भने। 

महामन्त्री शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दा पनि समर्थन गरेर भ्रष्टाचार विरुद्धको अभियानमा सहयोग गर्ने बेला भएको बताए। उनले आफूहरूले भ्रष्टाचार मुछिएका नेपाली कांग्रेसका नेताहरूको पक्षमा कहिल्यै पनि नबोल्ने बताएका छन्। 

‘यो समयमा सरकारलाई साथ दिने समय हो। भ्रष्टाचारको फाइल खोलेको बेला बधाई छ सरकार भन्ने हो। यो समय सरकारभन्दा बाहिर रहेको दलले पनि सरकारलाई समर्थन गर्ने हो।  यो समय सरकारलाई दिएको समर्थन फिर्ता लिने बेला होइन। कांग्रेसका नेताहरू पनि भ्रष्टाचारमा जेल हुनुहुन्छ। रोस्टममा उभिएर न विगतमा हामीले निर्दोष भन्यौँ न आज भन्छौँ। केवल यति भन्छौँ अनुसन्धान र न्यायिक प्रक्रियामा कसैले पनि बोल्न हुन्न। देश हेरिरहेको छ,’ उनले भने।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।