काठमाडौं । बाग्मती प्रदेशसभाको बैठक बुधबार बस्ने भएको छ ।
बैठक अपराह्न २ बजे बस्नेछ । बैठकको लागि कार्यसूची तयार गर्न बुधबार बिहान ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेशसभाको बैठक गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गरेपछि उनलाई धन्यवादको प्रस्ताव पारित गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।
बाग्मती प्रदेशसभा सचिवालयमा दुई विधेयक दर्ता गरिएको छ । सचिवालयमा दर्ता गरिएको विधेयकमध्ये प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन, सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ रहेको सो सचिवालयले जनाएको छ ।
Comment