काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले राष्ट्रपति पाउँदा पार्टी भित्रको व्यक्तिलाई भन्दा गैरराजनीतिक व्यक्तिलाई उम्मेदवार बनाउनु उचित हुने बताएका छन् ।
मंगलबार सिन्धुलीमा पत्रकारसँग कुरा गर्दै डा. कोइरालाले सम्भावित राष्ट्रपतिको रूपमा कांग्रेसले दलभन्दा बाहिरको व्यक्ति अगाडि सार्न सके सहमति बन्नेमा समेत आफू आशावादी रहेको सुनाए ।
आफ्नै पार्टीका सभापति शेरबहादुर देउवासमेत वरिष्ठ नेता रामचन्द्र पौडेल वा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नामसमेत चर्चामा रहेका बेला कोइरालाको यो धारणा आएको हो।
कोइरालाले राष्ट्रपतिको उम्मेदवार गैरदलीय व्यक्ति हुनुपर्ने आफ्नो अडान हुनेसमेत बताए। राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउँदै उनले त्यस्तो सम्भावना कांग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुनेमा जोड दिए ।
‘नेपाली कांग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्छ’ उनले भने–‘पार्टीमा छलफल हुँदा मेरो जोडबल यसैमा रहन्छ।’
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
Comment