दाङ । तुलसीपुर उपमहानगरपालिका-६ रजौराको कमलपोखरी तालको संरक्षण हुने भएको छ । उक्त तालको उचित संरक्षण नहुँदा अस्तित्व नै संकटमा परेको थियो । यसपटक तालको उत्खनन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न तुलसीपुर उपमहानगरपालिकाको आन्तरिक र बाह्य स्रोतबाट गरी १ करोड प्राप्त भएको वडा नं ६ का वडाध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।
उनले भने,‘ हामीले धेरै पहल र मेहनत गरी अहिले (डिपिआर) लागत योजना तयार गरी पहिलो चरणमा १ करोड स्रोत पनि जुटाइसक्यौं,’ अब छिट्टै टेन्डर प्रक्रिया अघि बढाउँछौं ।’ पोखरीको अस्तित्व समाप्त हुने भयो, जग्गासमेत अब अतिक्रमण हुन्छ भनी त्यहाँका स्थानीयले चिन्ता व्यक्त गर्दै आएका थिए ।
उनीहरुले तालको संरक्षणका लागि पटकपटक स्थानीय सरकारलार्ई ध्यानाकर्षणसमेत गराएका थिए । स्थानीय ज्ञानसिंह चौधरीले अहिले पोखरी संरक्षणका लागि बजेट आएको छ भन्ने जानकारी पाउँदा तालको संरक्षण हुन्छ भन्ने आशा पलाएको बताए । करिब ८ बिघा क्षेत्रफलमा ताल रहेपनि अहिले त्यो साँघुरो हुनुका साथै धेरै भाग पुरिँदै गएको छ ।
पहिले साढे पाँच फिट गहिरो रहेको सो ताल अहिले एक फिटजति मात्र गहिरो छ । कमलपोखरी तालको संरक्षण स्थानीयले गर्दै आएका थिए । तर बजेट अभावका कारण ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न भने उनीहरुले केही वर्षदेखि सकेका छैनन् ।
पोखरीको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका स्थानीय डिल्ली रजौरेले तालको उचित संरक्षण गरी यसलाई पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्ने बताउछन् । उनले भने, ‘तुलसीपुर बजार क्षेत्रमा यस्तो ताल कहीं छैन, यसको संरक्षण तथा पूर्वाधार निर्माण गर्नसके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ’, उनले भने, ‘यति पुरानो पोखरीको गाउँलेले संरक्षण गरेर राखेका थिए । अब स्थानीय सरकारले काम बढाउने भयो खुसी छौं ।’
सोही ठाउँ निवासी ३८ वर्षीया राधा न्यौपानेले ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीय सरकारले बजेट छुट्याएर काम सुरु गर्ने तयारी गरेको जानकारी पाउँदा खुसी लागेको बताइन् । पोखरी संरक्षण गरेर त्यस क्षेत्रमा माछापालन, वनभोजस्थल, जलविहार तथा जीवजन्तुको अवलोकन गर्न सकिने र यसबाट गाउँको मुहार नै फेरिने प्रशस्त सम्भावना रहेको स्थानीय लोकबहादुर डाँगीले जानकारी दिए ।
नागरिकको श्रमदानले पोखरी संरक्षण गरी लामो समयदेखि बचाइराखेको तालको अस्तित्व जोगाउन पुरिएको ताललाई उत्खनन गरी ढुङ्गाको व्यवस्था गर्नसके यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने ठूलो सम्भावना रहेको स्थानीय बताउँछन् । यसैबीच तुलसीपुर उपमहानगरपालिका-६ का वडाध्यक्ष लामिछानेले कमलपोखरी तालको उचित संरक्षण गर्न आफू विगत लामो समयदेखि लागिपरे पनि यसपटक भने सफल भएको बताए ।
उनले यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न वडाबाट तीन वर्षअघि गुरुयोजना निर्माण गरी सकेको र कार्यान्वयनका लागि आवश्यक पर्ने बजेट व्यवस्था गरिसकेकाले अब पहिलो चरणको काम छिटै सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा सो बजेटबाट तालको उत्खनन, संरक्षण निर्माण गर्छौं अपुग भए पुनः बजेट थप्छौं ।’
यस तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको छ । नब्बे वर्ष पहिले रजौरा, गोलौरा, डुम्रीलगायतका गाउँलेले गाईबस्तुलाई गर्मीयाममा पानी खुवाउनका लागि आफैँ श्रमदान गरी खाडल खनी मानव निर्मित जल भण्डारणका रुपमा राख्ने कार्य गरेका थिए । तर त्यस समयमा पानीको अभाव भएपछि गाउँलेले सोही तालमा नुहाउन, कपडा धुन र भाँडाकुँडा सफा गर्नसमेत जाने गरेको थिए ।
पोखरीमा कमलको फूल फुल्ने गर्दथ्यो । कमल फूल हेर्न र टिप्नका लागि गाउँगाउँबाट मानिस आउने भएपछि त्यस पोखरीको नाम कमलपोखरी राखिएको र अहिले पनि सोही नामबाट परिचित रहेको छ । सो ताल तुलसीपुर बजारबाट डेढ किलोमिटर दक्षिणमा पर्ने रजौरा गाउँबाट ५०० मिटर पश्चिममा पर्ने गर्दछ ।

Comment