add

त्यसैले त भनिन्छ 'सत्यमेव जयते'...!






ActPro Nepal

|

३ पुष, २०७७

|
1664

एकजना फिरन्ते व्यक्ति शहरी ईलाका भन्दा केहि बाहिर रहेको कुनै टोलमा पुगेछन् । साँझको समय थियो , थकाई लागिरहेको थियो । अगाडि बढ्न अपरिचित भुभाग भएको हुँदा त्यो दिनको बास त्यही टोलमा नै बस्ने निधो गरेर उनले त्यहिकै वासिन्दालाई थकित मुद्रामा जिज्ञासा राखे कि आफु फिरन्ते व्यक्ति भएको र अगाडि बढ्न समय तथा शरीरले साथ नदिएको हुँदा कतै आश्रय पाइन्छ कि ? उनको कुरा सुनेर उनि प्रति दया देखाउदै ती व्यक्तिले त्यो टोलको मुखियाको घर देखाइ दिए । ती बटुवा त्यहि मुखियाको घरतर्फ लागे । मुखिया समाजसेवीको आवरणमा धार्मिक वृत्तिमा लीन हुँदै समाजसेवामा पनि चासो दिएको जस्तो गर्ने तर भित्र भित्रै टोले गुण्डाहरूको नेतृत्व गर्दै बजार ईलाकामा गइ पकेटमार्ने , लुटपाट चोरी तथा हप्ता वसुली र वेश्यालय संचालन जस्ता अपराधिक र घृणित कार्य गर्ने जमात् को नेतृत्व गर्ने नाइके रहेछ ।

आफ्नो अगाडि अपरिचित युवा देखेर नाइकेले आफु दीनदु:खीहरूकै सेवक भएझै गर्दै नम्र तवरले उनको हालचाल बुझेर आश्रय दिएछ र मनमनै सोच्न थालेछ कि यो युवालाई, केहि समय पश्चात् आफ्नो प्रभावमा पारी ग्याङ्गमा सामेल गर्नेछु । अनि .. कृतिम अपनत्व देखाउदै फेरि भनेछ कि हे मित्र ! तपाई अव दु:ख झेल्दै कतै जानुपर्दैन, मलाई नै आफ्नो हितैषी ठानेर यहि मेरो घरमा बस्नुहोला ,तपाईहरू जस्तै दीनदु:खीको सेवाको लागि यो सेवक हाजिर छ । विधाताले मलाई तपाईँहरू जस्तै दीनदु:खीको सेवा गर्न यो धर्तीमा पठाए जस्तोलाग्छ त्यसैले म यस्ता परोपकारी कार्य गर्न पाउँदा आफुलाई सौभाग्यशाली सम्झन्छु पनि । ती फिरन्तेले मुखियाको नम्र व्यवहार र सेवाभाव प्रति नतमस्तक हुँदै प्रसन्न चित्तले त्यहि घरमा बस्न थालेछन ।

दिनहरू क्रमश: वित्दैजान थाले, ती आगन्तुक आफ्नो ईश्वरप्रति अगाध आस्था अनि निष्ठा भएका ,कठोर ब्रम्हचर्य व्रतमा बसेका तपस्वी थिए ,उनको सादगीपन, शालीन स्वभाव र नम्र अनि सहयोगी व्यवहारले टोलवासीहरू विस्तारै उनिप्रति सद्भाव राख्न थाले र आ-आफ्नो सामर्थ्य अनुसार जे जति सकिन्छ उनलाई हर तरहले सहयोग गर्न थाले । ती व्यक्ति पनि आफुलाई प्राप्त यस सुखद् अवसरलाई परमात्माको खटन र निर्देशन सम्झदै तल्लिन भएर समाज सेवालाई नै आफ्नो एकमात्र परम कर्तव्य ठान्दथे । अनि मनमा लागेका र देखेका कुरा कसैलाई केहि सरसल्लाह चाहिएमा तत्काल सबैलाई मान्य हुनेगरि सुझाव दिन्थे । एवम् रीतले केहि समय पछि उनको अनुष्ठान, शालीनता र शीलस्वभावको बारेमा त्यो टोल ,शहर हुँदै टाढाटाढा सम्म फैलिन थाल्यो । दिन वित्दै जाँदा एक दिन उनलाई पनि त्यो मुखियाको आन्तरिक कुकर्महरूको बारेमा जानकारी भयो , सुरुमा त उनलाई विश्वास नै लागेन तर यथेष्ट प्रमाण नै आफ्नो आँखाले नै देखेपछि विश्वास नगरुन् पनि कसरी ? आफ्नो आश्रयदाता त्यसरी अपराधको दलदलमा भासिदै गएको देखेर उनि असहाय जस्तै भएका थिए, उनको मन धर्धरी रुन्थ्यो । उनले कयौंपटक नाइकेलाई सत्कर्ममा लाग्न र वास्तविक समाजसेवा गर्न सम्झाउने काम गरिरहे, हरेकपटक उनि असफल भइरहे । एकदिन त्यो नाइकेले नै उल्टै प्रस्ताव राख्यो कि तपाइँले समाजमा आफ्नो जुन छबि बनाउनु भएको छ , त्यसैको आडमा गोप्य तवरमा मेरो काम कार्वाहिमा सहयोग गर्नुहोला , आम्दानी पनि भइ रहने र आफ्नो जीबनस्तर पनि सुध्रने हुँदा जसरी पनि मेरो काममा साथ र सहयोग दिनुहोस् ।

उसको कुरालाई निकै गम्भिर रुपमा लिदै उनि भन्छन् कि - हे मित्र ! व्यक्तिगत स्वार्थ मात्र सवैकुरा होइन , र पनि वेसहारा यो वेवारिसे पथिक माथी सदासयता देखाउदै जुन आश्रय दिएर गुन लगाउनु भएको छ त्यसको ऋण तिर्न त म कसैगरी पनि सक्दिन ,तर यसको अर्थ यो होइन कि तपाईका हर गलत र अक्षम्य कर्तुतहरूमा आँखा चिम्लेर साथ र सहयोग दिउँ । सक्नुहुन्छ ,सबैको भलाई गर्नुहोस् , सक्नुहुन्न कसैको कुभलो हुने कुरामा सोच्दै नसोच्नुहोस् । रह्यो मेरो साथ र सहयोगको कुरा ,तपाई अनि यो समाजको भलाईको लागि मेरो प्राण आबश्यक छ भने पनि बलिदान दिन तयार छु, माफ गर्नुहोला ,तर तपाईलाई पापकर्मद्वारा पतनको दलदलमा भासिन जानाजान दिनेछैन र सहयोग गर्न पनि असमर्थ छु ।

उनको यस्तो प्रष्ट अनि अपराधिक कर्मको लागि असहयोगी कुरा सुनेर नाइके क्षुब्ध भयो ,उसले तत्काल उनलाई आफ्नो ईलाका छाडेर जान आदेश दियो । कारण ती व्यक्ति यदि त्यहि बसिरहेमा एक त ती व्यक्तिको जनसम्पर्क दैनिक बढ्दै गइ रहेको र मानिसहरू भेटघाट तथा परामर्शको लागि आउने जाने क्रममा उसको सबै कर्तुतहरू भण्डाफोर हुनजान्थ्यो , दोश्रो उसलाई भन्दा ती व्यक्तिलाई आम मानिसहरूले विश्वास गर्थे र श्रद्धा गर्थे । जसबाट उसको मनमा ती ब्यक्ति प्रति राग , द्वेष र कुण्ठा झ्याँगिदै थियो । 

ती व्यक्तिले तत्कालै त्यो मुखियाको घर छाडेर त्यहि टोल कै नजिकै स्वतन्त्र जीवन जिउन थाले । छिमेकिहरूको सहयोगमा वृद्धि भयो , त्यहि सहयोगमा सानो घर बन्यो , उनको घरमा मानिसहरूको आउजाउमा बढोत्तरी भयो , उनि लोककल्याणकारी हितका लागि हरपल खट्टिन लागे । सबैले उनलाई आफुहरूको कल्याणको लागि ईश्वरले पठाएका दुत सम्झदै र उनै ईश्वर प्रति अनुगृहित हुदै सम्मान दिन लागे, पुज्न थाले । उनको प्रभाव समाजमा बढ्दै गएको देखेपछि यता त्यो नाइकेमा अब छटपटिका दिन सुरु भयो ,कतै त्यसले मेरो कर्तुतको भण्डाफोर गरिदिने हो कि ? मलाई पतन गराएर मेरै ईलाकामा सम्मानित भएर बस्ने हो कि ? आदि ...आदि.. यसैले उसले अब ती व्यक्तिलाई त्यो समाजबाटै वहिस्कृत गराउनका लागि आफ्ना गुण्डा साथीहरू ( जो जालझेल गर्नमा माहिर ,पकेटमार्ने , हप्ताअसुली , चोरी तथा लुटपाटमा संलग्न थिए ) लाई भेला पार्दै सबैले आफु जो जुन पृष्ठभूमिबाट आएको हो ,ती व्यक्तिलाई त्यहि तवरको व्यवहार गर्न र पुरै समाजमा उनलाई बद्नाम ,मानमर्दन तथा चरित्रहत्या गर्न कुनै कसर नराख्नु ,जसको लागि आवश्यक खर्च त्यहि कुकर्मबाट आर्जित धन प्रयोग गर्ने र सो कार्यमा कोहि कतै कानुनको फन्दामा पर्ने भएमा आफ्नो समाजसेवीको बिम्ब प्रयोग गरेर छुटाउने भन्दै आफु नेपथ्यमा रहेर आफ्ना निशाचरहरू परिचालन गर्न लाग्यो ।

अपेक्षित पुर्वानुमान झैँ ती व्यक्तिको दिन अप्ठेरो मोडमा पुग्यो , सो नाइकेका गुण्डाहरू द्वारा निचताको पराकाष्ठा नाघ्दै दुर्व्यवहार हुनथाल्यो । अवैध सम्पत्ति थुपारेको , सार्वजनिक जमिन हड्पेको , समाजलाई गुमराहमा राखेको र यहाँसम्म कि उनि परस्त्री गमनमा समेत समावेश भएको भनेर कपोकल्पित र भ्रामक अफवाह फैलाउदै गए । न्यायकि देवी समक्ष पुर्पक्षका लागि मुद्धा दायर गरे । वातावरण तनावपूर्ण बन्दै गयो , त्यो समाज जो उनिप्रति झुकाव राख्थे , उनको सादगीपन र सदाचार को प्रत्यक्षदर्शी थिए र अटल ईश्वरभक्ति प्रति नतमस्तक थिए ,उनिहरू ती छद्म शक्तिद्वारा षड्यन्त्रको कस्तै आँधीवेहरी सृजना गरेपनि उनको साथ नछोड्ने दृढ प्रतिज्ञामा अडिग रहे । 

मानौँ त्यहाँ धर्मयुद्ध भइरहेको थियो , जालझेल , षड्यन्त्र ,अतिवाद र षड्विकारको वकालत गर्ने मायावी दानविय शक्ति अनि ईश्वरिय शक्तिप्रति आस्था र विश्वास भएका सत्य,न्याय,निष्ठा र सदाचार अनुसरण गर्ने धर्मवीरहरूको । दानविय शक्तिले कुनै कसर बाँकी राखेका थिएनन् आफ्नो पलडा भारी पार्न र पनि "भगवान् के घर मे देर है अन्धेर नहि " भनिएझैँ न्यायमुर्तिबाट उनै शालीनताका प्रतिमुर्तिका पक्षमा फैसला भयो । दम्भ ,अहंकार ,खुराफाति प्रवृत्ति र षडयन्त्र परास्त भयो ,अर्थात सत्यको विजय भयो ।

सत्यको विजयलाई स्वीकार गर्न नसकेको त्यो पराजित निशाचर शक्तिले पुनः आफ्नो शब्दविष आम जनमानसमा प्रवाहित गरिरहेका थिए ,ता कि आउँदा दिनमा कतै झिंगेदाउ लगाउन सकिन्छ कि भनेर । 

जन्मजन्मान्तरको सत्कर्मको प्रतिफल स्वरुप परब्रम्ह परमात्माको अनुकम्पालेमात्र प्राप्त यो मानव शरीरमा आत्मारुपि त्यहि पथिक अथवा बटुवा निरन्तर भ्रमण गर्दो छ । जो सदाचार , सत्कर्म , सद्मार्ग ,शालीनता ,विनयशीलता र विवेकको स्वरुपमा मनको द्वार हुँदै अन्तरहृदयभित्र प्रविष्ट हुन चाहन्छ । तर यसलाई आफ्नो माखेसाङ्ग्लोमा जकड्याउन चाहन्छ मनरुपी त्यहि मुखिया गुण्डाको नाइके । जसले आफुमा भएको मायावी शक्ति काम,क्रोध ,लोभ, मोह ,अहंकार र ईर्ष्या जस्ता षड्विकारको बाछिटाले खियाउने कोशिश गर्दै हरपल अन्याय ,अत्याचार अकर्मण्यता र अविवेकी जस्ता विभिन्न घातक अंकुश प्रहार गरिरहेको छ । 

त्यसैले हरकोहि व्यक्तिको अन्तरआत्मामा होस् या बाहिरी भौतिक जगतका व्यक्ति विशेषमा.. सत्य-असत्य , पाप-पुण्य या सदाचार-दुराचार विच अन्तरद्वन्द चलिरहन्छ । जसको निरुपण जबसम्म हरव्यक्तिको हृदयले परब्रम्ह परमात्मा भगवान् लाई ज्ञानचक्षुद्वारा सर्वव्यापी निराकारको स्वरुपमा अनुभुति गर्दैन र भक्तको दृष्टिले मर्यादा पुरुषोत्तम भगवान् "श्रीराम" ,लीलाधारी भगवान् "श्रीकृष्णको" स्वरुपमा साक्षात् दर्शन गर्दैन , तबसम्म यो कलियुगमा पनि नृसिंह-हिरण्यकशिपु ,राम-रावण र कृष्ण-कंश चरित्रका विच भिन्न भिन्न समयमा द्वन्द चलिरहेको छ , चलिरहन्छ निरन्तर । र अन्तिममा विजय सत्यको नै हुनेछ । 

त्यसैले त भनिन्छ "सत्यमेव जयते" ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.