nuwaot motsav

औपचारिक शिक्षा र व्यावसायिक सफलताको अन्तरसम्बन्ध




ActPro Nepal

130

2020 Dec 14


सुजन रिमाल

प्रबन्ध निर्देशक, मेगा सिटी इन्जिनियरिङ प्रा.लि

नेपालमा लामो समय देखि निर्माण क्षेत्रमा संलग्न रहँदै आएका युवा व्यवसायी हुन् सुजन रिमाल । दोलखामा पुर्ख्याैली घर भएका उनी उच्च शिक्षाको अभिलाषा लिएर काठमाडौं प्रवेश गरेका हुन् । स्नातक तहको अध्ययन पश्चात् कुनै व्यावसायिक कम्पनीमा जागिरको खोजीमा भौंतारिएका उनी चित्तबुझ्दो जागिर पाउने अवस्था नदेखेपछि आफैं व्यावसायिक क्षेत्रमा प्रवेश गर्ने सोचमा पुगे । शुरुका दिनमा सामान्य कामबाट निर्माण क्षेत्रमा प्रवेश गरेका उनी अहिले करिब १० बर्षको अन्तरालमा आइपुग्दा एक प्रतिष्ठित उद्यमी बन्न सफल भइसकेका छन् ।

व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तह पूरा गरेका रिमाल आफूलाई एक कुशल र सक्षम व्यवसायीको रुपमा स्थापित समेत गरेका छन् । हाल सम्म आइपुग्दा आफ्नो लगानी निर्माण क्षेत्रको अलावा इन्टेरियर, इन्ष्टिच्युट र एजुकेशनल कन्सल्टेन्सी लगायतमा पनि विविधिकरण गरेका उनी आफ्नो लगानीको सही व्यवस्थापन हुनुपर्ने कुरामा निकै चलाख हुनुपर्ने मान्यता राख्छन् । काठमाडौंको तीनकुनेबाट सञ्चालित अनपोइन्ट एजुकेशनल कन्सल्टेन्सी र बानेश्वरको मिट पोइन्ट फर प्रिपरेसन नामक इन्ष्टिच्युट रिमालकै लगानीमा सञ्चालित छन् । यसको अलावा सहकारी र शेयर मार्केट लगायतका क्षेत्रमा समेत रिमाल सक्रिय रहँदै आएका छन् ।

व्यावसायिक शुरुवातः

आफ्नो स्नातक तहको अध्ययन पूरा भएपछि कुनै कम्पनीमा जागिर खाएर आफ्नो जीविकोपार्जनलाई सहज बनाउने उद्देश्यमा थिए रिमाल । सोहीबमोजिम विभिन्न कम्पनीहरुमा जागिरको लागि आवेदन दिए । कतैबाट पनि आफूलाई उपयुक्त हुने जागिर उनले पाउन सकेनन् । त्यही परिस्थिति रिमालको जीवनको टर्निङ पोइन्ट बन्न पुग्यो । आफैं उद्यमशिल क्रियाकलापमा संलग्न हुने निर्णयमा पुगेका रिमालको व्यावसायिक यात्राको शुरुवात भवन निर्माणसँग सम्बन्धी कार्यबाट भएको हो । सानो क्षमताको निर्माण व्यवसायीको रुपमा शुरु भएको उनको यात्रा इन्टेरियर क्षेत्र तर्फ पनि मोडियो । जुन घरको आन्तरिक व्यवस्थापनसँग सम्बन्धित कार्य हो । रिमालले इन्टेरियर क्षेत्रमा रही ३ बर्ष निरन्तर काम गरे । यसबाट उनी इन्टेरियर सम्बन्धी कार्यमा अनुभवी मात्र बन्न पुगेनन्, उनको कम्पनीले राम्रो चर्चा समेत कमाउन थाल्यो । यससँगै रिमाललाई आफ्नो व्यवस्थापनमा सम्पूर्ण घर निर्माण गर्न सकिने कुरामा विश्वास जाग्यो । सोहीकारण उनी आफ्नो कम्पनी मार्फत रेसिडेन्सियल र कमर्सियल भवनहरुको निर्माण कार्यमा जुटे ।

आफूले जिम्मा लिएको काम समयमा नै पूरा हुन सकोस् भन्नेमा सधैं सतर्क रहने रिमाल आफूले कहिल्यै पनि कामको गुणस्तरीयतामा सम्झौता नगरेको बताउँछन् । रिमाल भन्छन्, ‘सदैव आफूले प्र्रवाह गर्ने सेवा स्तरीय हुनु जरुरी रहन्छ । हामी अन्य व्यक्तिबाट जस्तो अपेक्षा गर्छौं, त्यसै किसिमको व्यवहार हामीबाट पनि हुनु जरुरी रहन्छ भन्ने कुरालाई विचार गर्नसके आफूले प्रवाह गर्ने सेवाको गुणस्तरमा कहिल्यै कमी आउँदैन ।’ निजी क्षेत्रको काम गर्दै जाँदा उनी सरकारी ठेक्कापट्टा तर्फ समेत आकर्षित भए । सरकार मातहत हुने निर्माण कार्य निजी क्षेत्रको भन्दा अझ सहज समेत हुने गरेको रिमालको अनुभव छ ।

काममा कर्तव्यनिष्ठ हुनुपर्नेमा रिमालको जोड:

आफूले जिम्मेवारी लिएको काम समयमा नै सम्पन्न गर्नुपर्नेमा रिमाल प्रतिबद्ध छन् । आफू कर्तव्यनिष्ठ हुन सकेको खण्डमा एक पछि अर्को राम्रो अवसर प्राप्त हुँदै जाने रिमालको अनुभव छ । कुनै पनि नयाँ क्षेत्रमा शुरुका दिनहरु केही चुनौतीपूर्ण अवश्य हुन सक्छन् । तैपनि ती चुनौतीहरुलाई स्वीकार्दै आफ्नो कर्मशिल यात्रालाई निरन्तरता दिने हो भने केही चुनौतीपूर्ण मोडहरु पछि नै राम्र्रा सम्भावनाहरुले पर्खिएर बस्ने भएकोले उद्यमशिल सोचको व्यक्तिले सानातिना उतारचढाव र चुनौतीहरुलाई सहजै स्वीकार्दै आफ्नो यात्रालाई निरन्तरता दिनुपर्ने रिमालको धारणा छ ।

नेपालमा थुप्रै अवसरहरु छन्ः

निर्माण क्षेत्रमा १० बर्षको अनुभव हासिल गरिसकेका रिमाल नेपाल उद्यमशिल कार्यको लागि राम्रो उर्वरभूमि भएको स्वीकार्छन् । नेपालमा नै केही गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्तिको लागि यहीँ नै प्रशस्तै अवसरहरु छन् । शैक्षिक जनशक्ति र बजारको आवश्यकता बमोजिम तालमेल मिल्न नसकेको र नेपालमा प्रयाप्त मात्रामा ठूलो क्षमताका उद्योग व्यवसायहरु सञ्चालनमा नरहेको कारण जागिर चाहने व्यक्तिहरुलाई सहजै रोजगारी प्राप्त हुने अवस्था नभएपनि आफैंले केही गर्नुपर्छ भन्ने उद्यमशिल सोचका व्यक्तिहरुको लागि भने नेपालमा थुप्रै कामहरु छन् । आफूसँग भएको सीपमा आधारित रही सानो लगानीमा काम शुरु गर्न सकिने सम्भावना हुँदाहुँदै पनि नेपालीहरुमा एकातिर यी सम्भावनाहरु बारे ज्ञान हुन नसक्नु र अर्को तर्फ ती काममा संलग्न हुँदा बढी झण्झट व्यहोर्नुपर्ने भएकोले सहज र जोखिमविहीन कामको लागि जागिर नै उपयुक्त ठान्ने गरेको पाइन्छ । यसको अलावा कतिपय नेपालीहरुमा कामलाई आफ्नो शैक्षिक स्तरसँग तुलना गर्ने अवस्था समेत देखिन्छ । भावी सम्भावना के हुन सक्छ भन्ने कुरामा विचारै नगरी तत्कालिन आवश्यकतालाई मात्रै विचार गर्ने कारणले गर्दा नेपाली युवाहरु नेपालमा उद्यमशिल गतिविधिहरुमा संलग्न हुन नसकेको रिमालको बुझाई छ । वैदेशिक अध्ययनको लागि शैक्षिक परामर्शदाता संस्था समेत सञ्चालन गर्दै आएका रिमालको आफ्नो मुख्य ध्यान भनेको नेपाली युवाहरुलाई नेपालमा नै रहन प्रोत्साहन गर्नुपर्छ भन्नेमा केन्द्रित हुने गर्छ ।

शिक्षा प्रतिको रिमालको धारणाः

नेपालका शैक्षिक जनशक्तिमा काम प्रतिको व्यावहारिक अनुभव निकै ठूलो खाडलको रुपमा रहँदै आएको छ । यसो हुनुको पछाडि औपचारिक शिक्षा हासिल गरेको व्यक्ति अनौपचारिक कार्यमा संलग्न हुन नचाहने साथै उसले शैक्षिक योग्यता बमोजिमको काम पाउन नसक्ने अवस्था रहनु नै मुख्य हो । कुनै विधाबाट औपचारिक शिक्षाका सबै तहहरु पार गरिसक्दा पनि अनुभवमा आधारित व्यावहारिक ज्ञान भने प्राप्त हुने अवस्था शैक्षिक जनशक्तिमा उपलब्ध नहुने भएकोले सहजै कुनै जागिर प्र्राप्त गर्न नसक्नु नेपाल जस्ता देशहरुको लागि ठूलो समस्या बनेको छ । साथै नेपालका थुप्रै उद्योग व्यवसायमा आवश्यकता बमोजिमका दक्ष जनशक्ति उपलब्ध हुन नसक्दा छिमेकी मुलुकहरुबाट दक्ष जनशक्ति भित्र्याएर काममा लगाउनुपरेको छ । यस्तो अवस्थालाई सम्बोधन गर्न औपचारिक शिक्षा र व्यावहारिक अनुभव बीच सामञ्जस्य कायम हुनु जरुरी छ । जुन अहिलेको मुख्य आवश्यकता बनेको छ ।

कस्तो हुनुपर्छ अबको शिक्षा ?

हामीले प्राप्त गर्ने शिक्षा वा ज्ञानलाई मूलतः कर्मसँग जोड्न सक्नुपर्छ । यसबाट मात्र हामीले उक्त शिक्षाको प्रत्यक्ष लाभ लिन सक्छौं । एउटा तहको शिक्षा हासिल गरिसकेपछि केही समय व्यावहारिक अनुभव हासिल गर्नमा लगाउन सम्बन्धित व्यक्तिलाई प्रोत्साहित गर्नुपर्छ । केही बर्षपछि सम्बन्धित व्यक्तिमा माथिल्लो तहको शिक्षाको आवश्यकता महसुस भएपछि पुःन शैक्षिक कार्यक्रममा सहभागि हुने किसिमको व्यवस्था कार्यान्वयनमा आउन सक्ने हो भने अहिलेको जस्तो वेरोजगारी समस्या समाधान हुन सक्छ । साथै अहिलेको समयमा हाम्र्रो शिक्षामा ज्ञान, सीप र प्रविधिको सम्मिश्रण हुनुपर्ने जरुरी समेत छ । शिक्षाले जनशक्तिमा समाजको आवश्यकता परिपुर्ति गर्न सक्ने क्षमता विकास गराउनुपर्छ । यसको लागि समाजको यथार्थ विष्लेषण गरी त्यस कार्यमा तत्काल होमिन सक्ने उद्यमशिल जनशक्ति उत्पादनमा हाम्रो शिक्षा केन्द्रित हुनु जरुरी छ । शायद शिक्षाको उद्देश्य र आवश्यकता पनि यही हुनुपर्छ ।

व्यावहारिकतामा शिक्षाको सन्दर्भः

अहिलेको सन्दर्भमा अधिकांश शिक्षित युवा जनशक्तिमा आफूले अध्ययन गरेका सिद्धान्तहरुलाई व्यवहारमा लागु गर्न सक्ने क्षमता न्यून देखिन्छ । सम्बन्धित क्षेत्रको अनुभवको कमी र कुनै जोखिम लिन सक्ने शाहस एवं तत्काल निर्णय लिन सक्ने क्षमता अहिलेका युवाहरुमा राम्रो सँग विकास हुन सकेको पाईंदैन । जसले गर्दा आफ्नो अध्ययनबाट हासिल गरेको ज्ञानको विपरीत हुने र आफ्नो आत्माले समेत स्वीकार नगरेको कार्यमा संलग्न भई जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ । यसले सम्बन्धित व्यक्ति र उसले समाजमा पुर्याउने योगदानमा सामञ्जस्यता कायम हुन नसक्ने अवस्था रहन्छ । हरेक शिक्षित व्यक्तिले आफूमा भएको सीपमा आधारित कार्यमा संलग्न हुन सकेको खण्डमा आफू मात्र आत्मनिर्भर नभई अन्य व्यक्तिलाई पनि उद्यमशिल बन्नको लागि प्रोत्साहित गर्न सक्छन् । यस पक्षलाई हाम्रो शिक्षा नीतिले सम्बोधन गर्नुपर्छ ।

रिमालको सफलतामा शिक्षाको योगदानः

आफू समयमा नै उद्यमशिल गतिविधिमा संलग्न हुने स्थिति बनेकै कारण अहिलेको उचाई हासिल गर्न सकेको रिमाल स्वीकार्छन् । कुनै दिन जागिर नपाएकै कारण शुरु गरेको आफ्नो सामान्य कार्य यति छोटो अवधिमा नै यसरी ठूलो पुँजी र प्रतिष्ठामा बदलिएला भन्नेमा रिमालले कुनै अनुमान लगाएका थिएनन् । आफ्नो तत्कालिन बाध्यता टार्ने उद्देश्यले शुरु गरेको व्यवसायमा रिमाललाई आफ्नो औपचारिक शिक्षाले पनि ठूलो सहयोग पुर्याएको छ ।

लगानी विविधिकरणबारे रिमालको धारणा :

व्यावसायिक जोखिम न्यूनीकरणको लागि लगानी विविधिकरण निकै महत्वपूर्ण रहन्छ । लगानी विविधिकरण गर्दा कुन–कुन क्षेत्र सम्भावनायुक्त हुन सक्छन्, ती क्षेत्र पहिचान गरेर लगानी गर्नुपर्छ । लगानी विविधिकरण गर्दा आफूलाई जानकारी नभएको क्षेत्रमा सिधै होमिएर काम शुरु गर्नुहुँदैन । यसो गरियो भने कतिपय अवस्थामा ठूलो जोखिम वहन गर्नुपर्ने हुन सक्छ । यसकारण हामीले जुन क्षेत्रमा लगानी विविधिकरण गर्ने हो, त्यस क्षेत्रको जानकारी भएका व्यक्तिहरुसँग परामर्श र सहकार्यमा यस्तो कार्य अघी बढाउनु उपयुक्त हुने रिमालको धारणा छ । लगानी विविधिकरणको उद्देश्य आफ्नो लगानी रकमको जोखिम व्यवस्थापन र उच्च मुनाफा प्राप्त गर्नु मुख्य हुनुपर्छ । साथै लगानी विविधिकरण गर्दा त्यसबाट कसरी दीर्घकालिन रुपमा राम्रो लाभ लिन सकिन्छ भन्ने सम्बन्धमा पनि विशेष सतर्क रहनुपर्छ । लगानी जति धेरै क्षेत्रमा विस्तार गर्न सकियो त्यति नै दीर्घकालिन रुपमा राम्रो लाभ बन्न जान्छ । अधिकांश सफल व्यक्तिहरुले यस कुरामा सतर्कता अपनाएको पाइन्छ ।

लगानीको जोखिम न्यूनीकरण कसरी गर्ने ?

लगानी कसरी सुरक्षित गर्ने भन्ने सम्बन्धमा व्यक्तिको आर्थिक बुद्धिमत्ता विशेष महत्वपूर्ण हुने गर्छ । यद्यपि कसरी यस किसिमको आर्थिक बुद्धिमत्ता विकास गर्न सकिन्छ भन्ने कुरा औपचारिक शिक्षामा खासै सामेल भएको पाईंदैन । बिना अनुभव औपचारिक शिक्षा मात्र हासिल गरेको व्यक्ति जोखिम हुन सक्ने कुनै पनि काममा संलग्न हुन नसक्नुको पछाडि यो पनि एउटा कारण हुन सक्छ । यसकारण न्यून जोखिममा लगानी विविधिकरणको योजना बनाइरहँदा व्यक्तिले व्यवस्थापनसँग सम्बन्धित हरेक पक्षमा राम्रो ज्ञान हासिल गर्नुपर्छ । यसको लागि समय, लगानी, जनशक्ति, जनसम्पर्क, बजार व्यवस्थापन लगायतका कुराहरुमा विशेष विचार पुर्याउनुपर्छ । कम जोखिमपूर्ण तवरले नै लगानी विविधिकरण गर्ने कार्य आफैंमा महत्वपूर्ण कला समेत हो । यस सम्बन्धमा हामी विशेष सचेत रहनुपर्छ । यो कार्य विशेष चलाखीपूर्ण रुपमा गर्नुपर्छ । यसको लागि सम्बन्धित क्षेत्रका पुस्तकहरु पढ्नु, तालिम तथा सेमिनारहरुमा सहभागि हुनु, अनुभवी व्यक्तिहरुसँग सङ्गत बढाउनु लगायतका कार्यले पनि निकै महत्वपूर्ण भुमिका निर्वाह गर्दछन् ।

सफल व्यक्तिमा हुनुपर्ने गुणहरुः

हरेक व्यक्ति सफल बन्न चाहन्छ । तर चाहँदैमा कोही पनि सफल र समृद्ध बन्न सक्दैन । सफल बन्न चाहने व्यक्तिले केही खास त्यस्ता बानीहरु विकास गर्नुपर्छ, जुन अन्य सफल व्यक्तिहरुले पालना गरेका हुन्छन् । यस अन्तरगत समय व्यवस्थापन, मानिस बीच व्यवहार गर्ने कला, सुमधुर सम्बन्ध बनाइरहने प्रयाश, आफूले प्रवाह गर्ने सेवाको गुणस्तरीयता, नयाँ योजना, नयाँ सीप विकास गराइरहने चाहना, धनको सही उपयोग र आत्मानुशासन लगायतको सही तालमेलबाट मात्र हामीले प्राप्त गर्न चाहेको सफलता प्राप्त गर्न सक्छौं ।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया