nuwaot motsav

कोरोना संक्रमणको पुनः संक्रमण, एन्टीबोडी र खोपबारे जान्नैपर्ने यी तथ्य




ActPro Nepal

223

2020 Oct 29

काठमाडौँ । कोरोना संक्रमण र कोभिड एउटै कुरा होइन । यदि लक्षण छैन वा सामान्य छ तर पीसीआर टेस्ट पोजिटिभ देखिएको छ भने त्यो कोरोना संक्रमण हो, कोभिड होइन । यदि संक्रमण बढेर निमोनिया भयो वा सास फेर्न धेरै गाह्रो भयो, संक्रमण अन्य अंगमा पुगेर असर गर्‍यो भने त्यो कोभिड हो । त्यसैले पीसीआर पोजिटिभ आउँदैमा आत्तिनु पर्दैन ।

कोरोना संक्रमण हाम्रो रोग प्रतिरोधात्मक क्षमताले जित्न सक्छौं । यदि जित्न सकेनौं भने संक्रमण रोगको रूपमा अर्थात् कोभिडमा पुग्दछ । कोभिड भयो भने उपचारको जरुरी हुन्छ । अक्सिजन, एन्टिभाइरल औषधि, द्वितीय संक्रमणको लागि एन्टिबायोटिक, स्टेरोइड, प्लाज्मा थेरापी, हाइफ्लो अक्सिजनसहित आईसीयू तथा भेन्टिलेटरको प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ ।

जसरी एचआईभी पोजिटिभ आउनु र एड्स लाग्नु एउटै होइन । त्यसैगरी पीसीआर पोजिटिभ आउनु र कोभिड लाग्नु एउटै होइन ।

यदि कोरोना भाइरस नाक, मुख र नगन्य रूपमा आँखाबाट हाम्रो शरीरमा प्रवेश गर्‍यो, भाइरसको संख्या वृद्धि भयो तथा ती विजातीय भाइरसलाई हाम्रो शरीरले निष्कासन गर्न प्रयत्न गर्‍यो भने त्यस अवस्थामा खोकी लाग्ने, तापक्रम बढ्ने जस्ता सामान्य लक्षण देखिन्छन् । संक्रमणको कारण इम्युनिटी पावर कमजोर हुन्छ । संक्रमण भनेको भाइरस विरुद्धको एक प्रकारको इम्युन रेस्पोन्स हो अर्थात् शारीरिक प्रतिक्रिया हो ।

कुनै पनि जीवाणु वा विषाणुले शरीरमा आक्रमण गर्नु र शरीरभित्र वृद्धि हुनुलाई संक्रमण भनिन्छ । समयमा संक्रमण पहिचान भएमा उपचार सजिलो हुन्छ । साथै रोगको रोकथाम र थप फैलावट रोक्दछ । उदाहरणको लागि फोक्सोमा संक्रमण भएमा एलर्जी हुने, सास फेर्न गाह्रो हुने, रुघा लाग्ने, खोकी लाग्नेजस्ता लक्षण देखिन्छन् ।

कोरोना भाइरस शरीरभित्र प्रवेश गरेपछि भाइरस धेरै संख्यामा (प्रजनन्) रेप्लिकेट भएपछि उक्त व्यक्तिलाई हानी गर्दछ । संक्रमणमा लक्षणहरू देखिन पनि सक्छ, नदेखिन पनि सक्छ ।

शरीरको इम्युनिटी पावर कमजोर भएमा भाइरसले आक्रमण गरेको भागमा कोषहरूलाई नोक्सान गर्दछ । रोग लागेपछि उपचारको आवश्यक हुन्छ । उदाहरणको लागि फोक्सोमा रोग लागेमा निमोनिया, ब्रोंकाइटिस, क्षयरोग आदि हुन्छ ।

यदि संक्रमण रगत वा लिम्फवाहिका मार्फत् सम्पूर्ण शरीरमा फैलिन्छ भने यो शरीरको सबै ठाउँमा पुग्छ । यदि यो फैलिएन र संक्रमित ठाउँमा मात्र रह्यो भने यसलाई स्थानीयकरण भनिन्छ ।

जब शरीरको अवस्था सामान्य र कार्यात्मक अवस्थाबाट असामान्य र कार्य क्षमता ह्रासको अवस्थामा परिवर्तन हुन्छ, केही खास प्रकारका लक्षणहरू देखिन्छ त्यसलाई रोग भनिन्छ ।

सबै कोरोना संक्रमितलाई कोभिड हुँदैन तर सबै कोभिड बिरामीलाई कोरोना संक्रमण भएको हुन्छ ।

सीटी भ्यालु अर्थात् साइकल थ्रेसहोल्ड भ्यालु

हाम्रो शरीरमा जति धेरै क्रियाशील भाइरसको मात्रा हुन्छ, त्यति नै थोरै पीसीआर साइकलमा अनुवंशको प्रतिलिपि वृद्धि भइ उच्च विन्दुमा पुग्दछ । अर्को शब्दमा भन्नुपर्दा भाइरसको लोड अनुसार सीटी भ्यालुको निर्धारण हुन्छ । थोरै भाइरसको लोड वा सुषुप्त भाइरस भएमा पीसीआर गर्दा अनुवंशको वृद्धिदर उच्च विन्दुमा धेरै पीसीआर साइकलमा पुग्दछ अर्थात् सीटी भ्यालु धेरै अंकमा हुन्छ अर्थात् २४ भन्दा माथिको अंकमा हुन्छ । धेरै भाइरसको लोड वा धेरै क्रियाशील भाइरस भएमा पीसीआर गर्दा अनुवंशको वृद्धिदर उच्च विन्दुमा थोरै पीसीआर साइकलमा पुग्दछ । अर्थात् सीटी भ्यालु कम हुन्छ । अंक हेर्दा २४ भन्दा थोरै हुन्छ ।

पीसीआर प्रविधिमा सीटी भ्यालुले भाइरसको मात्रा मापन गर्न सहयोग गर्दछ । जति बढी अंकको सीटी भ्यालु हुन्छ, त्यति नै थोरै मात्रामा भाइरस देखिन्छ । त्यस्तै नमूनामा भाइरसको मात्रा धेरै भएमा अर्थात् सीटी भ्यालु २४ भन्दा जति तल देखियो, त्यति नै उक्त नमूना बढी संक्रामक देखिन्छ । पीसीआर पोजिटिभ भए पनि यदि सीटी भ्यालु २४ भन्दा जति धेरै छ, अरुलाई रोग सार्ने क्षमता त्यति नै कम हुन्छ ।

पीसीआर टेस्टमा सीटी भ्यालुबारे धेरै संशय पाइएको छ । पीसीआर टेस्ट गर्दा यदि भाइरसको लोड धेरै छ वा वृद्धिदर उच्च छ भने थोरै साइकलमा नै प्रशस्त भाइरसको जिन देखिन्छ । यदि भाइरसको लोड कम छ भने भाइरसको अनुवंश धेरै साइकलको परीक्षणमा देखिन्छ ।

सीटी भ्यालु २४ भन्दा जति माथिल्लो अंकमा छ, त्यति नै उक्त संक्रमितले अन्य व्यक्तिलाई रोग सार्न सक्दैन भने जति तल्लो अंक छ, त्यति नै उक्त संक्रमितले अन्य व्यक्तिलाई रोग सार्ने सम्भावना धेरै हुन्छ । त्यति मात्र होइन संक्रमण शुरू हुँदा सीटी भ्यालु ठूलो अंकमा देखिन्छ, संक्रमण बढ्दै जाँदा सीटी भ्यालु सानो अंकमा देखिन्छ भने संक्रमण वा रोग निको हुने बेलामा सीटी भ्यालु माथिल्लो अंकमा देखिन्छ ।

तसर्थ सीटी भ्यालु थोरै अंकमा देखिएमा आत्तिनु पर्दैन । संक्रमण भएको करीब १ हप्तामा भाइरस लोड धेरै हुन्छ । त्यो बेला अधिकांशको सीटी भ्यालु २४ भन्दा धेरै तल देखिन्छ । निको हुने क्रममा २४ बाट अंक बढ्दै जान्छ ।

आईसीएमआरका अनुसार सीटी भ्यालुले संक्रमितको उपचारमा खासै फरक पार्दैन । सीटी भ्यालु किट अनुसार फरक आउन सक्छ । त्यस्तै नाकभित्रबाट लिइएको स्याम्पल र घाँटीबाट लिइएको स्याम्पलमा पनि सीटी भ्यालु फरक देखिन सक्छ । नमूना निकाल्दा कसरी निकालेको छ ? तापक्रम के कति व्यवस्थापन गरेको छ ? प्राविधिकले कसरी विश्लेषण गरेको छ ? आदिले पनि सीटी भ्यालु निर्धारण गर्छ ।

– लक्षण नदेखिएको व्यक्तिमा र लक्षण देखिएको व्यक्तिमा पनि सीटी भ्यालु फरक हुनसक्छ ।

– उच्च अंकको सीटी भ्यालुले धेरैलाई आफू हल्का संक्रमित भएको भ्रम हुन्छ, जसले गर्दा उसले लापरबाही गर्ने सम्भावना हुन्छ । रोगको गम्भीरता हाम्रो स्वास्थ्य अवस्थासँग जोडिएको हुन्छ, न कि सीटी भ्यालुसँग । सीटी भ्यालु उच्च अंकमा देखिएका व्यक्ति पनि गम्भीर हुन सक्छन् भने सीटी भ्यालु कम अंकमा देखिएका व्यक्ति पनि छिटो निको हुन सक्छन् । रोग प्रतिरोधात्मक शक्ति पनि योसँग गाँसिएको हुन्छ ।

– सीटी भ्यालुले भाइरल लोडको रफ इस्टिमेट मात्र दिने हो ।

– युरोपियन जर्नल अफ क्लिनिकल माइक्रोबायोलोजी एण्ड इन्फेक्सस डिजिजका अनुसार ३३–३४ भन्दा माथि सीटी भ्यालु देखियो भने यो अरुलाई सार्ने सम्भावना हुँदैन । त्यस्ता व्यक्तिलाई अस्पतालबाट डिस्चार्ज गर्न मिल्छ ।

मेरो अध्ययनको निष्कर्ष के छ भने शुरूमा परीक्षण गर्दा सीटी भ्यालु ठूलो अंकमा देखिए पनि संक्रमित व्यक्ति आइसोलेसनमा अनिवार्य बस्नुपर्छ । सीटी भ्यालु कम अंकमा देखियो भने संक्रमण बीचको अवधिमा छ भन्ने बुझिन्छ । यो भ्यालु देखेर आत्तिनु जरुरी छैन । त्यस्तै संक्रमण भएको १० दिनपछि सीटी भ्यालु ३२ भन्दा माथि देखियो भने उक्त व्यक्तिले सामान्यतया अरुलाई संक्रमण सार्न सक्दैन ।

सीटी भ्यालुलाई धेरै पक्षले प्रभाव पार्ने भएकाले पीसीआर पोजिटिभ वा नेगेटिभ के छ, त्यो नै सही मान्नु सुरक्षित हुन्छ ।

त्यस्तै हाम्रो इम्युनिटी पावर राम्रो छ भने सीटी भ्यालु अंकमा जति भए पनि भाइरसलाई घाँटीमै नष्ट गर्न सक्छ । फोक्सोमा प्रवेश गर्न पाउँदैन । यो अवस्थामा सीटी भ्यालु परिवर्तन नहुन पनि सक्छ ।

प्रयोगशालालाई सीटी भ्यालु अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था गर्ने हो भने पीसीआर टेस्टको विश्वसनीयता थप वृद्धि हुन्छ ।

पटक–पटक कोरोना पोजिटिभ

कोरोना संक्रमण भएको व्यक्ति २ हप्ता आइसोलेसन बसेको छ, उसलाई कुनै पनि समस्या देखिएको छैन तर पीसीआर टेस्ट गर्दा पोजिटिभ देखिएको छ भने त्यसमा चिन्ता गर्नुपर्दैन । शरीरभित्र नष्ट भएका भाइरसका अवशेष तथा नष्ट भएका टुक्राको कारण पनि पीसीआर पोजिटिभ देखिन सक्छ । यस्तो व्यक्तिले अर्को व्यक्तिलाई रोग सार्न सक्दैन । त्यस्तै उक्त संक्रमितलाई पनि कुनै असर गर्दैन । तसर्थ निको भएको व्यक्तिलाई पटक–पटक पोजिटिभ देखिए पनि जोखिम भएका घटना नगन्य छ ।

रि–इन्फेक्सन र एन्टिबोडी

एक पटक कोरोना संक्रमण निको भएको व्यक्तिलाई सामान्यतया दोहोरिएर संक्रमण कमै हुन्छ । नेपाल लगायत विश्वका अधिकांश मुलुकमा थोरै प्रतिशतलाई पुनः संक्रमण भएको तथ्यांक छ । पुनः संक्रमण भए पनि पहिले संक्रमित भएको व्यक्तिको शरीरमा कोरोना भाइरसविरुद्ध लड्ने एन्टीबोडी बनेको हुन्छ । उक्त एन्टीबोडीले कोरोना भाइरसलाई नष्ट गर्दछ । तसर्थ उक्त व्यक्तिलाई जोखिम हुँदैन । यसमा २ वटा कुरा ख्याल गर्नु जरुरी छ –

१. एक पटक संक्रमित भएको व्यक्तिमा कति महिना वा वर्षसम्म एन्टीबोडी रहन्छ भन्ने यकिन छैन । हालसम्मको अध्ययनमा ३–४ महिना एन्टीबोडी पाइएको छ । यो रोग नयाँ भएको तथा धेरै कुरा अध्ययन हुन बाँकी रहेको अवस्थामा निको भएको व्यक्तिले पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नु जरुरी छ ।

२.    पीसीआर टेस्टले हाम्रो देशमा ७०% सही रिपोर्ट दिएको छ । तसर्थ संक्रमण नभएको व्यक्तिमा पनि पोजिटिभ देखिन सक्छ । उक्त व्यक्तिले आफ्नो शरीरमा एन्टीबोडी बनेको छ भनेर ढुक्क हुने अवस्था हुनसक्छ । तसर्थ एन्टीबोडी चेक गर्नु राम्रो हुन्छ । गुणस्तरीय आरडीटी किटमा यदि आईजीजी पोजिटिभ देखियो भने वा प्रयोगशालामा अन्य विधिले एन्टीबोडी देखियो भने केही महिना ढुक्क हुने अवस्था हुन्छ ।

कोरोना भाइरस विरुद्धको खोप


३३ वटा खोपको सुरक्षा र मात्रा परीक्षण हुँदैछ । १४ वटा खोपको सुरक्षा परीक्षण भइरहेको छ । १२ वटा खोपको ठूलो जनसंख्यामा प्रभावकारिता परीक्षण भइरहेको छ । ६ वटा खोप प्रमाणित भएर शुरूआती तथा सीमित मात्रामा खोप लगाउन अनुमति दिइएको छ । व्यापक भ्याक्सिनेसनको लागि अझैसम्म कुनै पनि खोप कम्पनीले मान्यता पाएको छैन । ४८ वटा खोपको ‘क्लिनिकल ट्रायल’ भइरहेको छ भने ८९ वटा खोपको जनावरमा ट्रायल भइरहेको छ ।

चीन र रुसले सीमित भ्याक्सिनेसन गरिरहेका छन् । उनीहरूको तेस्रो चरणको परीक्षण सम्पन्न भई नसकेको हुँदा सुरक्षित नभएको वैज्ञानिकहरूको धारणा छ । चीनको कान्सिनो बायोलोजिक्स, रुसको स्पुत्निक भि, रुसको भेक्टर इन्स्टिच्युटले विकास गरेको इपिभ्याक कोरोना नामक खोप, वुहान इन्स्टिच्युट अन्तर्गत सिनोफार्मको भ्याक्सिन र  चीनकै सिनोभ्याक कम्पनीको भ्याक्सिनलाई विभिन्न देशले सीमित प्रयोग गरिरहेका छन् ।

अमेरिकाको मोडेर्ना, जर्मन र चीनको तर न्युयोर्कमा विकास भइरहेको फाइजर कम्पनी, अमेरिकाको जोन्सन एण्ड जोन्सन, बेलायतको अक्सफोर्ड विश्वविद्यालयले अनुसन्धान गरेको तथा एस्ट्राजेनेका कम्पनीले विकास गरेको खोप, अमेरिकाको नोभाम्याक्स, भारतको कोभ्याक्सिन, अस्ट्रेलियाको ब्रेससहित माथिका सीमित भ्याक्सिनेसन भइरहेका चीन र रुसका भ्याक्सिन गरेर १२ वटा कम्पनी कोरोना भाइरस विरुद्धको खोप निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

वैज्ञानिकहरूको मत अनुसार आगामी फेब्रुअरीदेखि खोपको व्यापक रूपमा उत्पादन शुरू हुनेछ भने त्यसपछि खोप वितरण हुनेछ । पहिले निर्माण भएका खोप बालबालिकालाई लगाइन्थ्यो र आजीवन एन्टीबोडीको विकास गरिन्थ्यो भने यसपटक महामारीको कारण फास्ट ट्रयाकमा सबै उमेरका व्यक्तिको लागि निर्माण भइरहेको छ । यस प्रकारका खोप कति समयसम्म प्रभावकारी हुने हुन् ? कुन–कुन समूहलाई काम गर्ने क्षमता राख्ने हुन् भन्ने कुरा खोप लगाएर प्राप्त परिणामको आधारमा पुष्टि हुनेछ ।

चीनका धेरै कम्पनीले ठूलो मात्रामा खोप निर्माण गरिरहेका, भारत विश्वका हरेक खोप उत्पादकको प्राथमिकतामा परेको तथा गाभीबाट समेत खोप उपलब्ध हुने अवस्था भएकाले नेपालले खोप प्राप्त गर्न धेरै समय लाग्ने छैन ।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया